काठमाण्डौ । तीन जीवन बीमा कम्पनी मर्जर भई एक बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ। 

साबिक युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सेयर बिहीबारबाट कारोबारमा आउने भएको हो। यी तीनै कम्पनी १ः१ः१ अनुपातमा मर्ज भएका हुन्। 

मर्जरपछि एकीकृत कारोबार भएको दिनदेखि सेयर मिलानका लागि नेपाल स्टक एक्सचेन्ज यी तीनै कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो। नेप्सेको आज असार ६ गतेको निर्णयबमोजिम सेयर कारोबार फुकुवा गर्दै हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार खुला हुने भएको हो। 

नेप्सेमा अब हिमालयन लाइफ इन्स्योरेन्सको नाममा १०० अंकित दरका कुल ८ करोड २ लाख ३ हजार ८३६.०२ कित्ता सेयर सूचीकृत भएको छ। 

नेप्सेले यो कम्पनीको सेयर कारोबारका लागि प्रतिकित्ता ३४६.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।