काठमाण्डौ । नेपालमा पहिलोपटक आयोजना गरिएको अन्तराष्ट्रिय स्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पूरा भएको छ ।  

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा यही पुस २१ गते देखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा  हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो । 

एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीबाट हुने तय भएको आयोजकले जानकारी दिएको छ । एक्स्पोको उद्घाटन कार्यक्रम यही पुस २१ गते शुक्रबार विहान ११ बजे हुनेछ । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुर्याउने अपेक्षा गरिएको छ । 

राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सयवटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहनेछ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहनेछ।