काठमाण्डौ । लामो समयदेखि सेयर बजारको ‘हटकेक’को रुपमा रहेको हिमालयन डिस्टीलरीको अहिले पनि दोश्रो बजार मूल्य प्रतिकित्ता १९०० भन्दा माथि नै छ । 

निकै लोभलाग्दो लाभांश इतिहास बनाएको यो कम्पनीको सेयर होल्ड गरेर बस्नेहरु हजारौं छन् । विगतको जस्तै लाभांश निरन्तर होला भनेर आशा गर्नेहरुको संख्या पनि उत्ति नै छ । 

पछिल्लो समय लगानीकर्तामा हिमालयन डिस्टीलरीले यो वर्ष कस्तो लाभांश घोषणा गर्ला भन्ने पनि चासो देखिन्छ । 

लामो समयदेखि बजारको ब्लुचिप स्क्रिप्टको रुपमा रहेको यो कम्पनीले यो वर्ष कति लाभांश घोषणा गर्ला ? लाभांशमा बोनस सेयर वा नगद केले प्राथमिकता पाउला ? 

हिमालयन डिस्टीलरीको चुक्तापूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । रिजर्भमा ९२ करोड ३३ लाख भन्दा बढी छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यो कम्पनीले ६६ करोड बढी खूद नाफा आर्जन गरेको छ । 

सो अवधिसम्मको प्रतिसेयर आम्दानी २७.१७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ छ । 

समीक्षाभन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा यो कम्पनीको आम्दानी ह्वात्तै घटेको छ । जसका कारण अघिल्लो वर्ष ४३.५० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी खुम्चिएर २७.१७ रुपैयाँमा सीमित बन्न पुगेको हो । यस हिसाबले समेत यो कम्पनीले आर्थिक वर्ष २०७९–८० का लागि उत्साहवद्र्धक लाभांश घोषणा गर्ने सम्भावना देखिन्न । 

कति आउला लाभांश ?
कम्पनीस्थित उच्च स्रोतकाअनुसार अघिल्लो वर्षको लाभांश घोषणा सकेसम्म तिहारअघि हुने सम्भावना छ ।

कम्पनीले यो वर्ष २५ देखि ३० प्रतिशत हाराहारीमा मात्र लाभांश घोषणा गर्नेछ । 

अघिल्लो वर्ष कम्पनीले ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

हालसम्मको योजना र तयारी हेर्दा कम्पनीले यो वर्ष बोनस सेयरलाई प्राथमिकता दिने छैन । कम्पनीको सञ्चालक समिति तत्काल कम्पनीको चुक्तापूँजी थप बढाएर जाने पक्षमा छैन । ‘पूँजी मात्र बढाएर कम्पनीलाई भद्दा बनाउन हुँदैन भन्ने पक्षमा अधिकांश सञ्चालक देखिनुहुन्छ ।’ एक सञ्चालकले बिजशालासँग भने–‘त्यसकारण अहिलेसम्मको अवस्था हेर्दा एचडिएलले यो वर्ष नगद लाभांश मात्रै दिनसक्छ ।’ 

कम्पनीको पूँजी मात्र बढाएर जाँदा विगतको जस्तो लाभांश दिन सकिँदैन भन्ने सञ्चालकहरुको मत छ । बिक्री घटेर आम्दानीमा संकुचन आउने, अनि यही बेला पूँजी बढाउने हो भने यसले अझ समस्या पार्ने उनीहरुको धारणा छ । 

गत वर्ष यो कम्पनीलाई पूँजी बढाउनैपर्ने बाध्यता थियो । किनभने कम्पनीले जिरो लिक्वीड डिस्चार्जको एउटा महत्वपूर्ण प्रोजेक्टलाई अगाडि बढाउनुपर्ने थियो । यो प्रोजेक्ट अगाडि बढिसकेको छ । यो योजना पूर्ण रुपमा कार्यान्वयनमा आएपछि कम्पनीबाट उत्पादन हुने ग्रेन स्लज, लेदोको रुपमा उत्पादन भई बिक्री भइरहेकोमा सो लेदो ड्राइ भएर उत्पादन हुने र यसलाई सेमी लिक्वीडको सट्टा ड्राइ केकको रुपमा बिक्रीवितरण गर्दा कम्पनीको आय बढ्ने सञ्चालकहरु बताउँछन् । 

यस्तै, कम्पनीबाट उत्पादित वस्तुको लागत समेत बढी हुन गएकोले लागत न्यूनिकरण गरी स्तरीय उत्पादकत्व वृद्धि गर्नका लागि प्लान्ट अटोमेसन योजनालाई समेत कार्यान्वयन गर्ने लक्ष्य कम्पनीको छ । 

यस्तै, नेपालभित्रै स्प्रिट म्याचुरेसन गर्ने कार्यका लागि कानून बनिसकेकोले हिमालयन डिस्टीलरीले मल्ट डिस्टीलेसन यूनिट समेत जडान गर्ने योजना बनाएको छ । 

यिनै कामका लागि समेत पूँजी बढाउनुपर्ने बाध्यता भएकोले गत वर्ष ६० प्रतिशत बोनस सेयर दिइएको सञ्चालकहरु बताउँछन् । 

आगामी वर्षहरुमा यस्ता ठूला योजना केही पनि नभएकोले समेत यो वर्ष नगद लाभांश मात्र आउनसक्ने उनीहरुको दाबी छ । 

यो कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक लगायतका मदिरा उत्पादन गर्दै आएको छ । ४० यूपीको मदिरा सेग्मेन्टमा यो कम्पनीको उत्पादनले बजारको ठूलो हिस्सा ओगट्दै आएको छ । 

कम्पनीले निकट भविष्यमै ह्वाइट लिक्वेयर सेग्मेन्टमा समेत नयाँ उत्पादन बजारमा ल्याउने योजना बनाएको छ ।