काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा दोस्रो दिन बिहीबार ७ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०८ बजेसम्ममा  ७ लाख ३३ हजार ६६ जनाले १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीको आइपीओमा दोस्रो दिनसम्ममा २ अर्ब ७२ करोड ९८ लाख ११ हजार ६० रुपैयाँ बराबरको आवेदन परेको छ ।

  कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । छिटोमा पुस १ गतेसम्म आईपीओ खरिदका लागि आवेदन दिन सकिने धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सिडिएस एण्डक्लियरिङ्ग लिमिटेडबाट निर्मित मेरोसेयर सफ्टवेयरमा गएरसमेत आईपीओ खरिदका लागि आवेदन दिन सकिनेछ ।