काठमाण्डौ । कोरोना महामारीका कारण व्यापार घट्दा अन्य कम्पनीको लाभांशमा संकुचन आइरहेकै बेला हिमालयन डिस्टिलरी लिमिटेडले भने आफ्ना सेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गर्दै मालामाल बनाएको छ। 

गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट यो कम्पनीले सेयरधनीहरुलाई सतप्रतिशत लाभांश घोषणा गरेको छ। जसमा बोनस सेयर ५० प्रतिशत र नगद लाभांश (करसहित) ५० प्रतिशत रहेका छन्। 

त्यसो त गत वर्षका लागिमात्रै होइन यो कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा आफ्ना सेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गर्दै मालामाल बनाएको थियो। अघिल्लो वर्ष हिमालयन डिस्टिलरीले कुल १०२.६३ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ५० प्रतिशत बोनस सेयर र ५२.६३ प्रतिशत नगद लाभांश रहेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्षको नगद लाभांश २.६३ प्रतिशतले मात्र घटेको हो। 

यो हिसाबले दुई वर्षअघि १०० कित्ता सेयर किनेका लगानीकर्ताहरुको हातमा अहिले २२५ कित्ता जम्मा भइसकेको छ। अर्थात् उनीहरुले थप १२५ कित्ता सेयर पाएका छन्। 

लगातार नगद लाभांशमात्र वितरण गर्दै आएको यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ बाटमात्रै सेयरधनीहरुलाई बोनस सेयर जारी गर्न थालेको हो। यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा दुईपटक प्रतिसेयर ६८.४२ रुपैयाँ र २१.०५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो। आ.व. २०७३/७४ मा प्रतिसेयर २१.०५ रुपैयाँ, आ.व. २०७२/७३ मा प्रतिसेयर २० रुपैयाँ, आ.व. २०७१/७२ मा प्रतिसेयर २० रुपैयाँ र आ.व. २०७०/७१ मा प्रतिसेयर १०.५२ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।

दुई वर्षमा २४१ प्रतिशतले बढ्यो सेयरमूल्य

यो कम्पनीको सेयर २ वर्षअघि अर्थात सन् २०१८ डिसेम्बर १७ का दिन अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२९० रुपैयाँ रहेको थियो। हिजो यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४ हजार ४०० रुपैयाँ रहेको छ। यस हिसाबले दुई वर्षमा यो कम्पनीको सेयरमूल्य २४१ प्रतिशतले बढेको छ। 

केही लाखबाट झन्डै करोडपति

यदि २ वर्षअघि उक्त दिन कसैले १२ लाख ९० हजार रुपैयाँबराबरको १ हजार कित्ता सेयर किनेर होल्ड गरेका राखेका छन्। लगातार दुई वर्षदेखि ५०/५० प्रतिशत बोनस सेयर पाउँदा उसको अहिले कुल २ हजार २५० कित्ता सेयर पुगेको छ। हिजो सेयरमूल्य अनुसार अब उसले १२ लाख ९० हजार रुपैयाँमा किनेको सेयर बढेर ९९ लाख रुपैयाँ पुगेको छ। यसरी यो कम्पनीबाट ती लगानीकर्ताले दुई वर्षमै यो सेयरबाट ८६ लाख १० हजार प्रतिफल प्राप्त गरिसकेका छन्।