काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडको आइपीओको बाँडफाँड बुधबार हुने भएको छ । धितोपत्रको सार्वजनिक निश्कासनको नयाँ नियमावली अनुसार बाँडफाँड हुने भएकोले प्रत्येक आवेदकले यो कम्पनीको १० कित्ता आइपीओ अनिवार्य रुपमा पाउँदैछन् । 

हिमालयन पावर पार्टनर लिमीटेडले असार १ गतेदेखि ५ गतेसम्म २१ करोड ३० लाख मूल्यको आइपीओ निश्कासन गरेको थियो । जसमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो । यो कम्पनीको आइपीओमा देशभरबाट १ लाख ६० हजार आवेदकले ८ अर्ब बराबरको प्रस्ताव पेश गरेका थिए । 

बिक्री प्रबन्धकको काम गर्दै आइएको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका सञ्जय पोखरेलले हिमालयनको आइपीओ साउन ४ गते बाँडफाँड गर्ने तयारी भएको जानकारी दिए ।

धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याएको सार्वजनिक निश्कासन सम्बन्धी संसोधित निर्देशिकाअनुसार धितोपत्र बाँडाफाँड गर्ने हिमालयन पावर पार्टनर पहिलो कम्पनी बन्दैछ ।

यो कम्पनीको अधिकृत पूँजी २ अर्ब ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ८५ करोड २३ लाख रुपैयाँ छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोडको उचाईमा पुुग्नेछ ।