काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीको आइपीओमा आवेदन दिन पाइने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म मागभन्दा करिब ४ गुणा बढी आवेदन परेको छ । 

बिक्री प्रबन्धक  नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडका अनुसार चौथो(अन्तिम दिन) सोमबार साँझ ५ बजेसम्म ७२ हजार आवेदकबाट ५१ लाख ३७ हजार ५५० कित्ताका लागि आवेदन परेको हो । अन्तिम डेटा भने मंगलबार मात्र आउनेछ । 

यो भनेको  मागको तुलनामा करिब ४ गुणा बढी हो ।

कुल निश्कासित १४ लाख ८५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने ४४ हजार ५५० कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७४ हजार २५० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयरमध्ये प्रतिमेगावाट लागत निकै कम भएका कारण पनि लगानीकर्ताहरुको उत्साहजनक सहभागिता देखिएको कम्पनीको दाबी छ । 

धितोपत्र बोर्डले यो कम्पनीलाई माघ २१ गते सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने अनुमति दिएको थियो । 

निजी क्षेत्रबाट प्रवद्र्धित यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित रामेछाप र दोलखाबासीका लागि गत कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख आइपीओ निश्कासन गरेको थियो । 

यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी २४ लाख ७५ हजार कित्ता निश्कासन गर्ने अनुमति पाएको थियो । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ६ हजार ५०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । 

यो कम्पनीको जारी पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जसको १० प्रतिशत आयोजना प्रभावितलाई बिक्री गरिसकेको छ भने १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

यो कम्पनीले हाल रामेछाप र दोलखा हुँदै बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती गरी २ आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना आगामी वर्षको चैतसम्म सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ ।