काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीको आइपीओ आगामी बैशाख ३ गते बाँडफाँड हुने भएको छ । 

बैशाख ३ गते दिउँसो १ बजे बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैंकिङको मुख्य कार्यालयमा आइपीओ बाँडफाँड हुने भएको हो। 

हिमालय उर्जा विकास कम्पनीको आइपीओमा ७२ हजार ३७६ जनाले ५१ लाख ५९ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन् । 

यो कम्पनीद्वारा चैत २० देखि २५ गतेसम्म कुल निश्कासित १४ लाख ८५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने ४४ हजार ५५० कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७४ हजार २५० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयरमध्ये प्रतिमेगावाट लागत निकै कम भएका कारण पनि लगानीकर्ताहरुको उत्साहजनक सहभागिता देखिएको कम्पनीको दाबी छ । 

धितोपत्र बोर्डले यो कम्पनीलाई माघ २१ गते सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने अनुमति दिएको थियो । 

निजी क्षेत्रबाट प्रवद्र्धित यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित रामेछाप र दोलखाबासीका लागि गत कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख आइपीओ निश्कासन गरेको थियो । 

यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी २४ लाख ७५ हजार कित्ता निश्कासन गर्ने अनुमति पाएको थियो । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ६ हजार ५०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । 

यो कम्पनीको जारी पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जसको १० प्रतिशत आयोजना प्रभावितलाई बिक्री गरिसकेको छ भने १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

यो कम्पनीले हाल रामेछाप र दोलखा हुँदै बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती गरी २ आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना आगामी वर्षको चैतसम्म सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ ।