काठमाण्डौ । हिमालय एअरलाइन्सले काठमाण्डौ उपत्यकाका विभिन्न अस्पताललाई कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि चिकित्सा सामग्री प्रदान गरेको छ। 

एअरलाइन्सले गत साता काठमाण्डौको बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी, महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टर महाँकाल र फर्पिङस्थित मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई विविध चिकित्सा सामग्री प्रदान गरेर सहयोग पुर्याएको हो। ती चिकित्सा सामग्रीको हस्तान्तरण कार्यक्रम हिमालय एअरलाइन्सको कार्यालय परिसरभित्र सम्पन्न भएको थियो। 

कार्यक्रममा हिमालय एअरलाइन्सको ब्रान्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले शहिद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १०० थान पीपीई सेट र १०० थान आरडीटी परीक्षण किट प्रदान गरेकी छन्। त्यसैगरी १०० थान पीपीई सेट र १०० थान आरडीटी परीक्षण किट राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहले प्राप्त गरेका छन्। 

विशेषतः काठमाण्डौ उपत्यकाभित्र रहेका स्वास्थ्य क्षेत्रका समुदायहरुबीच आफ्नो सेवाको पहुँच बढाउने प्रयासअनुरुप एअरलाइन्सले कोभिड–१९ विरुद्धको लडाइँमा अत्यावश्यक पर्ने १०० थान पीपीई सेट, १०० थान आरडीटी परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थानशु कभर र ५ बोतल (प्रत्येक ५०० मिलि.का) स्यानिटाइजरजस्ता स्वास्थ्य सुरक्षाका सामग्री मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको थियो। सो हस्पिटलका निमित्त अध्यक्ष पूर्णबहादुर शाहीले हस्पिटलका तर्फबाट उपरोक्त सामग्रीहरु ग्रहण गरेका थिए। 

दलीले कोभिड–१९ विरुद्ध लड्ने कार्यमा समाज र राष्ट्रका लागि सहयोग पुर्याउन हिमालय एअरलाइन्स सदैव तत्पर रहने बताइन्। ‘आजको यस्तो सहयोगले वास्तवमै हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वको सुदृढीकरण गर्दै महामारीविरुद्ध लड्न अहोरात्र खटिरहेका हस्पिटलहरुसँग हातेमालोका साथ कार्य गर्ने हाम्रो प्रतिबद्धताको ज्वलन्त उदाहरण हो’, उनले भनिन्।