काठमाण्डौ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित यस हिमालय एअरलाइन्सले आज मंगलबार आफ्नो पहिलो उच्च उचाइ गन्तव्य ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ।
ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो। जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ। आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाअनुरूप नै भएको जनाइएको छ।
परीक्षण उडान एच९ ९६१ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ः१७ बजे (स्थानीय समय) मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरित भयोे। ल्हासाबाट फिर्ती उडान एच९ ९६२ आजै अपराह्न १५ः०० बजे (स्थानीय समय)मा गर्ने र काठमाण्डौमा अपराह्न १४ः०० बजे (स्थानीय समय)मा अवतरित हुने अपेक्षा गरिएको छ।
एअरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासास्थित गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा वैधता उडानका लागि तीन फरक–फरक एप्रोचेज अपनाउने छन्।
परीक्षण उडानका लागि एअरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः उच्च उचाइका लागि उडान भर्न एच९ एजीके नाममा दर्ता भएको नवीनतम न्यारोबडी हवाईजहाज ए३१९–११५ प्रयोगमा ल्याएको छ। १२० इकोनोमी र ०८ बिजिनेस क्लास सिटको व्यवस्था भएको एअरक्राफ्ट उच्च उचाइको उडान भर्नका लागि परिमार्जित छ र अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाइ भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ।
हिमालय एअरलाइन्स्का अध्यक्ष श्री झोउ एन्योङले भने, ‘हिमालय टोली गत वर्षदेखि नै ल्हासाजस्तोे उच्च उचाइको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो। आजको सफल परीक्षण उडानले ( सुरक्षा, टीम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ। आजको प्रमाणीकरण उडानको सफल सञ्चालनका लागि हाम्रो टोलीलाई म हृदयदेखि नै बधाइ दिन चाहन्छु र हाम्रा दुवै मुलुकका नागरिक उड्डयन प्राधिकरणको सहयोग प्राप्त भाएकोमा हामी उहाँहरुप्रति कृतज्ञ छौँ। यस कार्यले हामीलाई हाम्रो अभियान सहजै अगाडि बढाउन सक्षम बनाएको छ।’
सोही समारोहमा एअरलाइन्सका प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एकमात्र विदेशी एअरलाइन्स हुन पाउनु हिमालयका लागि वास्तवमै गर्वको विषय हो। यसका साथ साथै यस उडानले उच्च उचाइका हवाइ उडानका लागि नागरिक उड्डयन प्राधिकरणले निर्दिष्ट गरेको मापदण्ड र आवश्यकताहरूको पालनाको सुनिश्चितता गर्नेछ।’
‘यसरी सीमापार सम्बन्ध सुदृढ पार्ने अवसर पाउँदा हामी सम्मानित भएको अनुभूति गर्दछौँ’, श्रेष्ठले थपे, ‘साथै, हामी विश्वस्त पनि छौँ, कोरोेना महामारीपछि यस उडानले नेपाल र तिब्बतबीचको पर्यटक संख्यामा उल्लेखनीय बृद्धि गर्नेछ।’
परीक्षण उडान ३ हजार ५७० मीटरको उचाइ अर्थात् ११ हजार ७११ फिटबराबरको उचाइमा रहेको ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत एप्रोचेजका साथै आरएनपी–एआर एप्रोचेजका प्रमाण्ीाकरणका लागि योजना गरिएको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago