काठमाण्डौ । हिमालय एयरलाइन्सले दुबई उडान पुनः सुरु गरेको छ।

कोभिडा–१९ महामारीका कारण लामो समयदेखि हिमालय एयरलाइन्सले दुबई उडान गरेको थिएन। अब हरेक साता काठमाण्डौ र दुबईबाट ३/३ वटा उडान हुने एयरलाइन्सले जनाएको छ।

हिमालय एयरलाइन्सले काठमाण्डौबाट हरेक आइतबार, मंगलबार र बिहीबार दुबई उडान भर्नेछ। त्यस्तै दुबईबाट हरेक सोमबार, मंगलबार र बिहीबार काठमाण्डौ उडान गरिने एयरलायन्सले जनाएको छ। 

दुबईले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै हवाई यात्रा खुकुलो बनाएपछि हिमालय एयरलाइन्सले उडान पुनः सुरु गर्न लागेको हो। उडानको शुभारम्भ गर्दै हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इंयोङले कोरोना महामारीका कारण रोकिएका उडानहरु फेरि सुरु गर्नु आफूहरुका लागि चुनौतीपूर्ण रहेको सुनाए। ‘अब फेरि दुबईमा उडान सुरुगर्न पाउँदा हामी निकै खुसी र उत्साहित भएका छौँ’, उनले भने। 

दुबईस्थित हेल्लो हिमालय ट्राभल एन्ड टुरिजमलाई आफ्नो स्थानीय बिक्री एजेन्टका रुपमा हिमालय एयरलाइन्सले नियुक्त गरेको छ। यो ट्राभलले दुबईमा आधिकारिक रुपमा हिमालय एयरलाइन्सको टिकट बिक्री र बजार विस्तारको काम गर्नेछ।