काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीको घाटा बढ्दै गएको देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । 

समीक्षा अवधिमा यो कम्पनी ४ करोड  ५० लाख खूद घाटामा गएको छ । यस्तो घाटा अघिल्लो आ.ब.को यही अवधिमा १ लाख ४ हजार रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा यो कम्पनीले विद्युत बिक्रीबाट १५ करोड ८४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिएको छ । अन्य आम्दानी पनि १ करोडभन्दा माथि छ । 

यही अवधिमा कम्पनीले रोयल्टीबापत ५० लाख ६९ हजार तथा प्रशासनिक खर्चको रुपमा २ करोड २७ लाख बढी खर्च गरेको छ । 
फाइनान्सियल कस्ट मात्र ८ करोड ३८ लाख देखिएको छ भने १० करोड १८ लाख डेप्रिसिएसन देखिएको छ । 

कुल ९९ करोड चुक्तापूँजी रहेको यो कम्पनीको रिजर्ब पनि ६ करोड ९ लाख रुपैयाँले नेगेटिभ बन्न पुगेको छ । 

घाटा चुलिँदै गएका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि नेगेटिभ रहेको छ । समीक्षा अवधिका लागि कम्पनीको इपीएस ४.५५५ रुपैयाँले ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९३.८४ रुपैयाँ मात्र छ ।