काठमाण्डौ । विश्वसामु नेपाल सर्वोच्च शिखर सगरमाथाको देशको रुपमा परिचित छ ।

सगरमाथासहित नेपालमा गगनचुम्बी हिमालहरु प्रशस्तै छन् । यहाँ ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमाल छन् ।नेपाली पर्यटनको प्रमुख आधार बनेका छन्, गगनचुम्बी हिमाल । वर्षेनी हजारौं विदेशी पर्यटक हिमाल आरोहण गर्न नेपाल आउँछन् ।

हिमालको पर्यटन बेचेर नेपालले विदेशी मुद्रा आर्जन गरिरहेको छ । सेताम्मे हिमाल आरोहणका लागि मात्रै होइन, हेरेरै मनोरञ्जन गर्नका लागि पनि पर्यटक आउने गरेका छन् ।पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्न भनेर मात्र वर्षेनी ३०० भन्दा बढी स्वदेशी विदेशी आरोहीहरु जाने गर्छन् । 

यो वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण गर्न स्वेदश र विदेशकासमेत गरेर जम्मा १ हजार २८५ जनाले अनुमति लिएका छन्। हिमाल आरोहणबाट ६ करोड ९१ लाख रूपैयाँ राजस्व संकलन भएको छ ।

पर्यटन विभागले दिएको जानकारी अनुसार कात्तिक ८ (अक्टोबर २५) सम्ममा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरूष र २३७ जना महिलाले आरोहण अनुमति लिएका छन् ।यो सिजनका लागि हालसम्म आमादब्लम हिमाल चढ्न सबैभन्दा धेरैले अनुमति लिएको पाइएको छ ।
आमादब्लमका लागि ३३९ जना पुरूष र ७० जना महिला गरी ४०१ जनाले अनुमति लिएका हुन्। त्यसैगरी, मनास्लु हिमाल आरोहण गर्न ३०१ जना, हिमलुङ्ग हिमाल आरोहण गर्न १२५ जनाले अनुमति लिएका छन्।

विभागका अनुसार हालसम्म ७२ वटा देशका आरोहीले विभिन्न ४९ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन्।