काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ७६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको आईपीओ असार २५ गतेदेखि बिक्री खुला गरिने भएको छ । 

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै हिमाल दोलखाले प्रतिकित्ता १०० दरका  ७६ लाख ७२ हजार २१० कित्ता साधारण सेयरको बिक्री खुला गर्ने भएको हो । 

यसमा १ लाख ५३ हजार ४४४ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुले पाउनेछन् । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।

आईपीओका निष्कासन बन्द हुने मिति छिटोमा असार २९ गते र ढिलामा साउन २४ गतेसम्म हुने कम्पनीले जनाएको छ । 

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।  

कम्पनीले चुक्तापुँजीको ४८.७५ प्रतिशत बराबरको आईपीओ जारी गर्न लागेको हो ।

यसअघि कम्पनीले गत जेठ १४ गतेदेखि आयोजना प्रभावितका लागि १६ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । 

यो कम्पनीले ४.५५ मेगावाट क्षमताको माईखोला साना जलविद्युृत आयोजना तथा ८ मेगावाट क्षमताको माई स्मल क्यास्केड आयोजना संचालनको क्रममा छ । दुवै आयोजना इलाम नगरपालिकामै छन्।