काठमाण्डौ । हेटौंडा सिमेन्ट उद्योग पुन : सूचारु गर्न चौतर्फी दबाब परेको छ ।

आर्थिक संकटका कारण बन्द गर्नुपरेको खबर सार्वजनिक भएपछि सरकारले जसरी भएपनि उद्योगलाई सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । जसअनुसार उद्योगले ३ हजार मेट्रिक टन कोइला आपूर्ति गर्न मंगलबार बोलपत्र आह्वान गरेको छ । सो उद्योगले योग्यता पुगेका फर्महरुकालागि विद्युतीय प्रस्ताव आह्वान गरेको हो ।

साथै उद्योगलाई आवश्यक पर्ने मिनरल्स जिप्सम पनि खरिद गर्न लागिएको  छ। उद्योगले ४ हजार मेट्रिक टन मिनरल्स जिप्सम आवश्यकता परेको भन्दै सूचना प्रकाशित भएको मितिले ३१ औं दिनमा विद्युतीय प्रस्ताव पेश गर्न योग्यता पुगेका पञ्जिकृत फर्मलाई भनेको छ ।

आर्थिक संकटका कारण उद्योगले समयमा कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन सोमबारदेखि बन्द गरेको थियो ।उद्योग तथा आपूर्तिमन्त्री मन्त्रालयबाट आर्थिक अनुदान उपलब्ध भएपछि उद्योगले कोइला खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।

सो उद्योगमा मासिक ३ हजार ६०० मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा ३ लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए ।

कुल ३ लाख बोरा सिमेन्ट काठमाडौंलगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिदमा लगाइने योजना रहेको उद्योगले जनाएको छ ।

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ ।