काठमाण्डौ । सेयर बजारमा सोमबार झिनो करेक्सन भएको छ। आज होटेल सेक्टरमा बिक्री दबाब पर्दा बजारमा सामान्य करेक्सन आएको देखिन्छ।

बजार आज ०.८० अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०७६.९६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेर ३८८.६२ को विन्दुमा उक्लिएको छ। कारोबार हिजोको तुलनामा बढेर पौने ४ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजारमा असार मसान्तको सामान्य प्रभाव परेको बताउँछन्। ‘तर अब बजार बढ्ने नै हो’, उनले भने, ‘किनकि बैंकमा पैसा थुप्रिएको छ।’

अहिले लगानी गर्ने अन्य सेक्टर खासै नरहेकोले पनि सेयर बजारमा पैसा आउने ढकालको भनाइ छ। ‘साउनबाट बजार राम्रै अंकले माथि जान्छ’, उनले भने। 

बजार अहिले सेक्टरवाइज चलिरहेको ढकाल बताउँछन्। ‘त्यसैले अहिले राम्रा–राम्रा कम्पनीमा छानी–छानी लगानी गर्ने समय पनि हो’, उनले भने। 

बजार जानकार दामोदर गजुरेल पछिल्लो समय ३०० अंकले बढेको बजारमा केही अंकको करेक्सन आएको बताउँछन्। ‘आज बजारमा केही बिक्री दबाब देखिएको छ’, उनले भने, ‘यद्यपि आज कारोबार बढेको छ।’

बैंकको साढे ३ खर्ब बढी लगानीयोग्य रकम रहेको गजुरेलको भनाइ छ। ‘त्यसैले आधारभूत रुपमा बजार माथि नै जाने देखिन्छ’, उनले भने। 

प्राविधिक रुपमा बजार सुपर ट्रेन्डमा भ्यालिड नै देखिएको गजुरेलले बताए। ‘बोलिंगरको मध्य ब्यान्डमा बजार टिकेको देखिन्छ’, उनले भने, ‘म्याक्डीले भने बजारमा केही करेक्सन चलेको संकेत गरेको छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक २.११ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूहमा १.१२ प्रतिशतले बढ्दा लगानी समूहमा ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२९ प्रतिशत, अन्य समूहमा ०.२२ प्रतिशत र व्यापार समूहमा ०.०१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.७२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.३१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०२ प्रतिशत, विकास बैंक समूहमा ०.०७ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोल्टी होटेलको सर्वाधिक ३३ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको आज प्राइम कमर्सियल बैंकको संस्थापक सेयरको २४ करोड ८९ लाख रुपैयाँ, शिवम सिमेन्टको १५ करोड ५१ लाख रुपैयाँ, सिटी होटेलको ९ करोड १ लाख रुपैयाँ, एनएमबि बैंकको ७ करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ३० लाख रुपैयाँ, अपर तामाकोशीको ६ करोड ५७ लाख रुपैयाँ, नेपाल फाइनान्सको ५ करोड ९८ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको ५ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन रावा इनर्जीका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज हिमालयन हाइड्रोपावर र सिटी होटेलका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउमा ६ प्रतिशत बढीको गिरावट आएको छ।