– अर्जुन तिमिल्सिना

काठमाण्डौ । जलविद्युत विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) जलविद्युत कम्पनीमा लगानी गर्ने उद्देश्यका साथ स्थापित कम्पनी हो। त्यसैले यो कम्पनीले जलविद्युत विकास र उत्पादनमात्र लगानी गर्छ। 

धितोपत्र बजारमा लगानी समूहमा रहेको यो कम्पनीले आफ्नो पुँजीको केही मात्रामा आफैँ लगानी गर्छ भने केही ऋण लगानी पनि गर्छ। कम्पनीको हाल २२ अर्ब रुपैयाँ पुँजी हुने भए पनि ११७ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले बोन्ड तथा डिबेन्चरबाट पनि पुँजी संकलन गर्न सक्छ। 

हाल यो कम्पनीको चुक्तापुँजी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १६ अर्ब ५० करोड रुपैयाँ रहेको छ। आउँदो साउन ५ गतेबाट जारी गर्न लागेको १०० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापुँजी २२ अर्ब रुपैयाँ हुने देखिन्छ। 

कम्पनीले हकप्रद प्रयोजनार्थ गत जेठ २८ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्। 

कम्पनीको सञ्चित मुनाफा ६३ करोड ८९ लाख रुपैयाँ रहेको छ। रिजर्भमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। कम्पनीको हालको प्रतिसेयर आम्दानी (ईपीएस) ५.१६ रुपैयाँ छ। प्रक्षेपित ईपीएस आगामी २०७८/७९ मा ३.७५ रुपैयाँ, २०७९/८० मा ३.७३ रुपैयाँ र २०८०/८१ मा ३.१३ रुपैयाँ रहेको छ। यो कम्पनीको हालाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८१.७३ गुणा रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ हाल १०६.४७ रुपैयाँ रहेको छ। 

कम्पनीले ३९५ मेगावट विद्युत उत्पादनका लागि गरेको लगानीमा १० वटा प्रोजेक्टमा ६ अर्ब ५३ करोड प्रतिबद्धता रहेकोमा ३ अर्ब ९६ करोड रुपैयाँ प्रवाह गरिसकेको छ। यो भनेको ब्याजमा पैसा लगाइएको हो। 

कम्पनीको अन्य ५ वटा प्रोजेक्टमा ६५६ मेगावट उत्पादनका लागि ६.५ अर्ब नै लगानी गरेको छ। त्यस्तै पावर इन्जिनियरिङसम्बन्धी कम्पनीमा ९२ करोड रुपैयाँ लगानी गरेको छ। 

कम्पनीले स्थापनाकालपछिको ४ वर्षमा एकपटकमात्र १० प्रतिशत बोनस सेयर दिएको छ भने ३ पटक ५, ५ र १२ प्रतिशत गरेर नगद लाभांश दिएको छ। 

यो कम्पनीले १०९७ मेगावाट क्षमताका १७ वटा जलविद्युत आयोजनामा १२ अर्ब ९१ करोड रुपैयाँ ऋण तथा स्वपँुजी लगानी गर्ने प्रतिबद्धता गरेको छ। यो कम्पनीले केही प्रोजेक्टमा आफैँ निर्माण गर्ने तथा केहीमा ऋण लगानी गर्ने कम्पनीका प्रवक्ता तथा वित्त विश्लेषक जीवन बस्नेतले बताए। उनका अनुसार कम्पनीले ५० प्रतिशत ऋण लगानी गर्ने तथा ५० प्रतिशत आयोजना निर्माणका लागि सेयर लगानी गर्नेछ।  

कम्पनीले हालै सार्वजनिक गरेको आह्वानपत्रमा थप ९१२ मेगावटका राष्ट्रिय महत्वका २ जलसाययुक्त आयोजनामा चीन सरकारको पावर कन्स्ट्रक्सन अफ चाइना लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ। यसमा के–कति प्रतिशत हुने भन्ने निर्णय भने भइसकेको छैन।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधार

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजारमा सेयरमूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा पाँच वेभ र नौ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। 

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सी बजार तल जाने संकेत गर्छ। यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ (४) तथा माइनर वेभको ५ पूरा भएर ए, बी र सी चल्दा यो कम्पनीको भाउमा केही समय करेक्सन आउने देखिन्छ। यो चक्र पूरा गरेपछि इन्टरमिडियट डिग्रीको वेभ (५) बनाउँदा यो कम्पनीको सेयरमूल्य ६०० रुपैयाँसम्म पुग्न सक्नेछ। (तस्बिर माथि) 

फिवोनासी रिट्रेसमेन्टका आधारमा  

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो औजारअन्तर्गत आगामी दिनमा यदि यो बैंकको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा ४३६ रुपैयाँ, ०.३८ प्रतिशतको टेवा ३९२ रुपैयाँ, तथा ०.५ प्रतिशतको टेवा ३५५ रुपैयाँसम्म आउन सक्छ। 

 एमएसीडी लाइनका आधार

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने केही दिन पहिला एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न सुरु गरेर र बियरिस सिग्नल बन्न लागेका देखिन्छ। (हेर्नुहोस् रातो एरो)  हिस्टोग्राम पोजेटिभ र छोटा–छोटा  हुँदै गएकोले केही समयमा बियरिस हुन सक्ने  अनुमान लगाउन सकिन्छ। (हेर्नुहोस् कालो एरो)

बोलिंगर ब्यान्डका आधारमा

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो बैंकको मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएर झरेको तर मध्यरेखाभन्दा माथि नै रहेको छ। यो ब्यान्डअन्तर्गत कम्पनीको सेयरमूल्य उच्च उत्तारचढाव रहेको पनि बुझिन्छ। 

आरएसआईका आधारमा

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ। यस कम्पनीको हालको आरएसआई ६० मा रहेको छ। जसको अर्थ हुन्छ न्युट्रल जोनभन्दा माथि रहेको छ र अघिल्लोपल्ट यो उच्च विन्दु ८४ को तहमा पुगेपछि करेक्सन आएको थियो भने न्यून ५३ को तहमा पुगेपछि सेयरभाउ उकालो लागेको थियो। हाल ६० को तहमा रहेकोले यदि यहाँबाट माथि गएमा बुलिस हुन सक्ने अनुमान लगाउन सकिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– ४६९

प्रतिराध २– ४८०

प्रतिराध ३– ५०३

पिभट प्वइन्ट : ४५७

घटेमा सर्पोट 

सपोर्ट १–४४६

सर्पोट २–४३५

सर्पोट ३–४११

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस होइन।