काठमाण्डौ । विद्युत् विकास विभागले प्रस्तावित १०६ मेगावाट(मेवा) क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा पर्ने असर भएमा लिखित रुपमा रायसुझाव पेश गर्न अनुरोध गरेको छ ।

विभागले बिहीवार सूचना जारी गर्दै जलविद्युत् आयोजना निर्माण  तथा सञ्चालन गर्दा प्रतिकुल पर्ने भएमा ३५ दिनभित्र रायसुझाव दिन अनुरोध गरेको हो ।

डोल्पा जिल्लाको जगदुल्ला  गाउँपालिका र मुड्केचुला गाउँपालिका भएर बग्ने जगदुल्ला नदीमा बन्ने उक्त आयोजना निर्माण गरी विद्युत् उत्पादन गर्न जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले अनुमति पत्रका लागि विभागमा यसअघि नै निवेदन दिइसकेको छ ।

आयोजना निर्माणका लागि अध्ययन प्रतिवेदन तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायतका  पूर्व तयारीका कामहरु भइरहेको छ ।
उक्त विद्युत् आयोजनबाट वार्षिक सरदर ६२३.४७  गिगावाट घण्टा विद्युत् उत्पादन हुन्छ । उक्त आयोजनाबाट २०८६ साल जेठ २८ गते विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

उक्त आयोजनामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, जलविद्युत् उत्पादन तथा विकास कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ८ प्रतिशत,  कर्णाली प्रदेश सरकारको ५ प्रतिशत, आयोजना प्रभावित गाउँपालिकाको एक एक प्रतिशत र बाँकी सार्वसधारणको लगानी रहने बताइएको छ ।

उक्त आयोजना निर्माणका लागि कुल २३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसअघि नै आयोजनाको विद्युत् खरीदविक्री सम्झौता(पीपीए) समेत भइसकेको छ ।