– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल सेयर बजारमा परिचित नाम हो। 

मोरङको पथरी शनिश्चरेका ढकाल २०४६ अध्ययनको सिलसिलाको काठमाण्डौ आएका थिए। सुरुआतमा कुरिअर व्यवसायमा हात हालेका ढकाल २०५६ सालदेखि प्राथमिक बजारमा प्रवेश गर्दै सेयर बजारमा होमिएका हुन्।

ढकालले दोस्रो बजारमा प्रवेश गर्दा सुरुमा हिमालयन बैंकको १० कित्ता सेयर किनेका थिए। हाल उनी मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ  कृषि कम्पनी, चिलिमे जलविद्युत कम्पनी, मध्यभोटेकोशी जलविद्युत कम्पनीलगायतमा सञ्चालक छन्। 

२०५६ सालतिरको सेयर बजारको अवस्था सम्झिँदै ढकाल भन्छन्, ‘त्यो बेला ओपन क्राई सिस्टम थियो। झ्यालबाट अर्डर दिने र कारोबार राफसाफ ७ दिनमा हुन्थ्यो।’

ढकालका अनुसार त्यतिबेला सेयरमा लगानी गर्ने निकै कम थिए। ‘सेयर लोन पनि निकै कम हुन्थ्यो’, उनले भने, ‘त्यो समय नेपालको सबैभन्दा पुरानो  एउटा नेपाल फाइनान्स थियो, त्यहीँबाट लोन लिएर सेयर कारोबार गर्थें।’

सुरुआतमा आफूले धेरै अग्रजबाट सेयर बजारका विषयमा ज्ञान हासिल गरेको ढकालको भनाइ छ। ‘विस्तारै दायर बढ्दै गयो, साथीभाइ बढ्दै गए’, उनले भने, ‘मलाई धेरै अग्रजको सहयोग पनि मिल्यो। सेयर बजारमा मेरो पहिलो अग्रज सुजिता खनाल हुन्। त्यसपछि कुमार केशर बिष्ट र डा. मनोहर कृष्ण श्रेष्ठ, डा. आत्मराम घिमिरे र इन्द्रबहादुर थापालगायतको सहयोगले मलाई धेरै सजिलो भयो। अहिलेजस्तो सूचनाको पहुँच थिएन, आफैँ धेरै मेहनत गरिन्थ्यो, यही कारणले अहिले निकै सहज भएको छ।’

‘त्यो बेला जम्मा एक घन्टा कारोबार हुन्थ्यो’, ढकाल सम्झिन्छन्, ‘नेप्सेको आँगनमा बसेर सबै ब्रोकर र लगानीकर्ता एकै ठाउँमा बस्थ्यौँ। यसले अभिभावकत्वको अनुभव हुन्थ्यो।’

सेयर बजारमा नयाँ हुँदा गाइडलाइन पनि आवश्यक हुने ढकालको बुझाइ छ। ‘दिनभरि जागिर खाएर बेलुका हामीले धेरै सरसल्लाह गरेर सेयर किन्थ्यौँ’, उनले भने, ‘अहिलेको जस्तो हचुवाको भरमा सेयर किनिदैनथ्यो। मैले धेरै बुझेर सेयर किन्ने गर्थें, त्यसैले कहिल्यै पनि घाटा खानुपरेन।’

ब्रोकरबाट किनबेच गर्दा सुजिता खनालबाट धेरै सहयोग प्राप्त भएको ढकाल बताउँछन्। ‘नवप्रवेशीले धेरै बुझेर मात्र सेयर किन्नुपर्छ’, ढकाल सल्लाह दिँदै भन्छन्।

सुरुमा ट्रेडरकै रुपमा आफू दोस्रो बजार प्रवेश गरेको ढकाल बताउँछन्। ‘धेरै लोभ गरिनँ, त्यसैले मैले कहिले पनि घाटा खाइनँ’, उनी भन्छन्, ‘आजको दिनसम्म केही पछुतो छैन। किनकि सानो पुँजी थियो। अहिले म लगानीकर्ता हुँ।’

त्यतिबेला आफूले धेरै बैंक तथा वित्तीय संस्थाहरुबाट लोन लिएर सेयर कारोबार गरेको पनि ढकालले खुलाए। ‘सेयरमा आफ्नो मात्रै स्वपुँजीबाट कमाइँदैन, लोन पनि लिनुपर्छ’, उनले भने, ‘तपाइँ प्रोफेसनल नै हुने हो भने लोन लिएर पनि चल्नुपर्छ। लोन लिँदा जहिले पनि आफ्नो क्षमता हेरेर लगानी गर्नुपर्छ। म जहिले पनि ६० प्रतिशत स्वपुँजी र ४० प्रतिशतमात्रै लोन लिने गर्छु।’ लोन लिएर बिग्रिँदैन तर म्यानेज गर्न जान्नुपर्छ।  म्यानेज गर्न नजान्नेले लोन नलिए हुन्छ। मैले अघिल्लो वर्ष कोभिडको समयमा पनि लोन तिरेको छु। कारोबार ठप्पै हुँदा पनि ब्याज तिरेको छु।’ 

पुँजीबजार सधैँ आफ्नो पक्षमा नहुने ढकालको अनुभव छ। ‘राजनीति र अन्य अर्थतन्त्रका कारणले पनि असर गर्छ’, उनले भने। 

ढकाल सेयर बजार सुरक्षित लगानीको क्षेत्र रहेको बताउँछन्। ‘बैंकले सेयर धितो लिलाम गरेको मैले सुनेको छैन। किनकि सेयर लोन डिफल्ट हुने कमै हुन्छ’, उनले भने, ‘त्यसैले यो क्षेत्रमा लगानी एकदम सुरक्षित हुन्छ।’ 

सेयर बजारमा होल्डिङ नै गरेर कमाइने ढकालको अनुभव छ। ‘पुँजीबजारमा सानो पुँजी हुन्जेल टे«डिङ नै गरेर पुँजी बनाएँ। पछि पुँजी बढेपछि भने होल्ड  पनि गरेँ’, उनले भने, ‘नयाँ–नयाँ हुँदा सतप्रतिशत टे«डर थिएँ तर अहिले एउटा तह पुगेपछि २०  प्रतिशतमात्रै ट्रेडिङ गर्छु। ८० प्रतिशत म अहिले पनि लगानी नै गर्छु।’

सेयरमा लगानी गर्दा कम्पनीको व्यापार तथा योजना कस्तो छ ? भनेर हेर्नुपर्ने ढकालको सुझाव छ। ‘जस्तो उदाहरणका लागि नबिल बैंक तथा मुक्तिनाथ बैंकलाई हेर्न सकिन्छ’, उनले भने, ‘राम्रो व्यवस्थापन भएको कम्पनी हेरेर किन्नुपर्छ।’

सेयर बजारमा लागेर अहिलेसम्म कुनै तीतो अनुभव नभएको ढकालले बताए। ‘पुँजीबजारमा लागेपछि सन्तुष्ट र खुसी हुनुपर्छ। तर सधैँ असन्तुष्ट र दुःखी हुने हो भने पुँजीबजारमा लगानी नगर्दा नै उचित हुन्छ’, उनले भने। 

अहिले पुँजीबजार अभिभावकविहीन हुनु दुःखद् कुरा भएको ढकाल बताउँछन्। ‘सेबोन र नेप्से प्रमुखको नियुक्तिमा किन ढिलाइ भइरहेको छ ? बुझ्न सकिएन’, उनले भने, ‘मेरो अनुरोध के छ भने जतिसक्दो छिटो यी निकायका प्रमुख नियुक्ति हुनुपर्यो।’

नियामक निकायले नीति–नियम ल्याउँदा दीर्घकालीन हुने गरी सरोकारवालासँग सरसल्लाह गर्नुपर्ने ढकालको भनाइ छ। ‘सबै नियामक निकायहरु राष्ट्र बैंक, नेप्से, सेबोन र सीडीएससीलाई मेरो अनुरोध के हो भने नीति बनाउँदा कम्तीमा ४ वर्षका लागि हुने गरी दीर्घकालीन सोचेर बनाऔँ।’