काठमाण्डौ । बितेको २४ घन्टाको अवधिमा भारतमा हालसम्मकै उच्च झन्डै १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टा (आइतबार बिहान ८ बजेसम्म) मा भारतमा ९ हजार ९७१ जना नयाँ संक्रमित फेला परेका छन् भने २८७ जनाको मृत्यु भएको छ। कोरोनाबाट भारतको महाराष्ट्र, गुजरात, राजस्थान र दिल्ली सबैभन्दा बढी प्रभावित छ।

भारतमा हालसम्म संक्रमितको संख्या २ लाख ४६ हजार बढी भइसकेको छ। तीमध्ये झन्डै ७ हजारको मृत्यु भएको छ। 

हालसम्म भारतमा १ लाख १९ हजार संक्रमित निको भएर घर फर्किएका छन्। 

भारतमा गत शुक्रबारदेखि हिजो शनिबार बिहान ८ बजेसम्मको २४ घन्टाको अवधिमा ९ हजार ८८७ जना नयाँ संक्रमित थपिएका थिए। हिजो एकैदिन भारतमा २९४ जनाको ज्यान गएको थियो।