काठमाण्डौ । व्यक्तिको सम्पत्ति किनबेच गर्न पाउने हक कुठाराघात गर्न खोजिएको भन्दै सर्वत्र विरोध भएपछि नेपाल धितोपत्र बोर्डले डिम्याट नभएका सेयर पनि बिक्री गर्न सकिने व्यवस्था पुनः कार्यान्वयनमा ल्याउने तयारी थालेको छ । 

बोर्डले ०७२ माघदेखि कारोबारका लागि भौतिक सेयरलाई अभौतिकीकरण(डिम्याट) गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको थियो । 

त्यसपछि हालसम्म सूचिकृत कम्पनीका ३ अर्ब २१ करोड ७९ लाख ७२ हजार ९ सय ३५ कित्ता सेयर डिम्याट भए पनि १ अर्ब १३ करोड ६ लाख ३९ हजार १ सय ३९ कित्ता सेयर अझै डिम्याट भएको छैन । हालसम्म १० लाख ७९ हजार ४ सय २२ जनाले मात्र डिम्याट खाता खोलेका छन् । 

यसको अर्थ १ अर्ब १३ करोड ६ लाख बढी कित्ता सेयर होल्ड गरेर बसेका लगानीकर्ताको सम्पत्तिलाई बोर्डको व्यवस्थाले निस्क्रिय बनाइदिएको थियो । २ वर्षसम्म अर्थहीन बनाइएको अरबौंको सम्पत्तिमाथिको प्रतिबन्ध फुकाउने बिषयमा पछिल्लो समय बोर्ड समेत सकारात्मक देखिएको हो । 

बोर्डले सेयरको कागजी किनबेचमाथि प्रतिबन्ध लगाउँदै डिम्याट कारोबारलाई अनिवार्य गरेपछि डिम्याट हुन छुटेका सेयर लगानीकर्ताले किनबेच गर्न पाएका थिएनन् । लामो समयदेखि डिम्याट नभएका भौतिक सेयरको किनबेच नहुँदा व्यक्तिको सम्पत्तिमाथि बोर्डले हस्तक्षेप गरेको र यसले संविधानले प्रदत अधिकार कुण्ठित गरेको भन्दै विज्ञहरुले आलोचना गर्दै आएका थिए । 

लामो समयसम्म लाखौं कित्ता डिम्याट नभएका कागजी सेयरलाई बन्धक बनाएको बोर्डले सर्वत्र विरोधपछि मात्र बल्ल भौतिक सेयरको समेत किनबेच गर्न पाउने व्यवस्थालाई पुनः कार्यान्वयनमा ल्याउन लागेको हो, तर यसको मोडालिटी भने केही फरक हुने बताइएको छ ।  

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार डिम्याट नभएका सेयर समेत कारोबार गर्न पाउने गरी उपयुक्त व्यवस्थाको खोजी थालिएको छ । डिम्याट नभएका सेयर बजारमा कारोबार नै नभएपछि लाखौंको सम्पत्ति बन्धक भएको स्वीकार गर्दै बोर्डले सेयर बिक्री हुँदा भौतिक रुपमा भए पनि खरीद गर्दा अभौतिक रुपमा रुपान्तरण हुने प्रणाली विकास गर्न खोजिरहेको बताइएको छ । भौतिक सेयर बिक्री कुन प्रणालीबाट गर्ने र कति किस्तासम्म भौतिक सेयर बिक्री गर्न पाउने लगायतका बिषय तथा बिक्रीमो मोडालिटीको बिषयमा आफूहरुले अध्ययन थालेको गिरीले जानकारी दिए । 

भौतिक(कागजी) सेयर हराउने, च्यातिने, नासिने र चोरिने समस्या निराकरणका लागि डिम्याटलाई अनिवार्य गरेको थियो । तर, हालसम्म पनि सबै सेयर डिम्याट भएको छैन । कतिपयले डिम्याट प्रक्रियालाई झञ्भटिलो मान्दै हालसम्म चूप बसेका छन् । यसरी कागजी सेयर डिम्याट नहुँदा करोडौं रुपैयाँ बराबरको व्यक्तिगत सम्पत्ति बन्धक भएको छ । बोर्डले डिम्याट कारोबारलाई अनिवार्य गरेपछि भौतिक सेयरलाई किनबेच गर्न नदिने व्यवस्थाको विश्लेषक तथा कानूनविदहरुले चर्को विरोध गरेपछि विकल्पको खोजीमा बोर्ड लागेको देखिएको छ । 

बोर्ड स्रोतका अनुसार हाल नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कुल सेयर संख्याको ७४ प्रतिशतको हाराहारीको सेयर मात्र डिम्याट भएको छ । डिम्याटमा नहुने सेयरमा अधिकांश संस्थापक सेयरहरू रहेको बताइएको छ । कारोबार गर्न नरुचाउने लगानीकर्ताले पनि सेयर डिम्याट गराएका छैनन् । लंगटर्म भिजनसहित लगानी गर्ने अधिकांश लगानीकर्ताले सेयर डिम्याट गराएका छैनन् ।