– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजारले २०७८ भदौ २ का दिन हालसम्मकै उच्च ३२०० को विन्दु चुमेको थियो। त्यस दिन बजारमा कारोबार हुने हरेक समूहमा हरियाली छाएको थियो। 

त्यसपछि भने नियामक निकायले बजारको बढ्दो रफ्तारलाई कस्ने नीति अबलम्बन गरेपश्चात भने बजारको ओरालो यात्रा सुरु भयो। ३२०० बाट खसेको बजार करिब १८०७ सम्म भर्यो। अहिले बजार सानो–तिनो अंकले तल–माथि गर्दै १९०० को आसपास घुमिरहेको छ। 

लामो समयदेखि ठूलो अंकले बजारमा करेक्सन आउँदा आमलगानीकर्ता पीडित भएका छन्। तर, नेपालको सेयर बजारमा कारोबार हुने होटेल समूह भने करिब १८ महिनादेखि लगातार बुलिस मोडमा कारोबार भइरहेको छ। 

होटेल समूहका कम्पनीहरुमा लगानी गर्नेहरुले भने राम्रो नाफा कमाएका छन्। २०७८ भदौमै तल्लो विन्दुमा रहेको होेटेल समूह त्यसपछि भने लगातार बुलिस रहेको छ। 

विश्वप्रख्यात लगानीकर्ता वारेन वफेटले भनेजस्तै स्मार्ट लगानीकर्ताले घट्दो बजारमा पनि नाफा कमाउन सक्छन् भन्ने उदाहरण होटेल समूहका लगानीकर्ता बनेको देखिन्छ। 

यो समूहका कम्पनीहरुका सेयर ‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खु्र्पा बिँड’ भएको छ। त्यसताका अरु समूहका कम्पनीमा लगानी गर्नेहरुलाई ८० प्रतिशतसम्म घाटा भएको छ तर होटेल समूहका कम्पनीहरुमा लगानी गर्नेलाई भने बियरिस बजारमा पनि ३५ प्रतिशत देखि ५८ प्रतिशतसम्म नाफा भएको छ।

२०७८ भदौमा आरेन्टियल होटेलको प्रतिकित्ता ४१६ रुपैयाँमा कारोबार भएको थियो। हाल यो होटेलको सेयरभाउ ५६५ रुपैयाँ पुगेको छ। 

यसैगरी त्यतिबेला प्रतिकित्ता १८४ रुपैयाँमा कारोबार भएको सोल्टी होटेलको सेयरभाउ अहिले २६४ रुपैयाँ पुगेको छ। तारागाउँ रिजेन्सी होटेलको सेयरभाउ पनि ३१५ रुपैयाँबाट बढेर हाल ५०० रुपैयाँमा कारोबार भएको छ।