काठमाण्डौ । दुई वर्षको अवधिमा पूँजीबजारबाट १४ खर्ब गुमाएपछि समस्यामा परेका सेयर लगानीकर्ताहरुले एमालेनिकट नेपाल उद्योग व्यवसायी महासंघले घोषणा गर्ने आन्दोलनका कार्यक्रममा साथ दिने वचनबद्धता गरेका छन् । 

सोमबार महासंघका पदाधिकारीहरुलाई भेटेर नेपाल सेयरधनी संघ र स्वतन्त्र पूँजीबजार सुधार संघले यस्तो वचनबद्धता जनाएको हो । 

सेयरधनी संघका अध्यक्ष नानीबाबु खरेल र स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष सुशीलकुमार लुनियाद्वारा जारी विज्ञप्तिअनुसार देशको अर्थतन्त्र सुधार र चलायमान बनाउनका लागि अर्थमन्त्रालय र राष्ट्रबैंकलाई सम्बोधन गरी राखेको १० बुँदे मागप्रति पूर्ण समर्थन रहेको छ । 

ती मागहरु पूरा गराउनका लागि जस्तोसुकै आन्दोलन थाले पनि आफूहरुको पूर्ण समर्थन रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 
यी दुई संगठनले विभिन्न समयमा राष्ट्रबैंकले ल्याएको गलत नीतिहरुका कारण ५८ लाख सेयर लगानीकर्ताको १४ खर्ब स्वाहा भएको दाबी गरेका छन् । 

देशको अर्थतन्त्र चलायमान हुन नसक्नुमा पनि यस्तै गलत नीति कारक रहेको उनीहरुको भनाई छ । 

‘देशको अर्थतन्त्रको ऐनाको रुपमा हेरिने पूँजीबजारमा संलग्न आम लगानीकर्ता अहिले राष्ट्रबैंककै कारण शारिरीक तथा मानसिक रुपमा असाधारण स्थितिमा पुगेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले सतप्रतिशतसम्म ब्याजदर बढाउँदा राष्ट्रबैंकले नियन्त्रण गर्दैन, बरु उल्टै ब्याजदर बढाउनका लागि पृष्ठपोषण गरिरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘आफ्नो सम्पत्ति धितो राखेर ऋण लिन १२ करोडको सीमा तोक्ने, सेयर कर्जाको जोखिमभार १५० प्रतिशत कायम गर्ने, नेपाल सरकारले बजेटमार्फत सेयर बजार र कम्पनीहरुको एफपीओ निश्कासन एवम् मर्जर एक्वीजिसनका सम्बन्धमा लिएका अवैज्ञानिक कर नीति जस्ता काम राष्ट्रबैंक र सरकारबाट भएका छन् ।’ 

उनीहरुले राष्ट्रबैंक नेतृत्वले मौद्रिक नीतिको हतियार प्रयोग गरी अहिलेको सरकारलाई असफल बनाउने, आर्थिक गतिविधिमा संकुचन ल्याउने, राजनीतिक प्रतिशोध साँध्ने जस्ता काम गरिरहेको आरोप समेत लगाएका छन् । 

विज्ञप्ति यस्तो छः