काठमाण्डौ । एकदिनको फरकमा बियरिस र बुलिस ट्रेण्ड भोगेर सर्किट ब्रेकर लागी पूरा अवधि कारोबार नभएको पूँजीबजारमा बुधबार निर्र्धारित समय भन्दा १५ मिनेट बढी कारोबार भएको छ । 

लगानीकर्तालाई हतोत्साही बनाउने गरी छाएका काला बादलहरु विभिन्न निकायको प्रयासका कारण फाटेको विश्वास गरिएको छ । यही कारण बुधबारदेखि बजार संयमित रुपमा उक्लिन थालेको देखिएको हो । 

बुधबार दोहोरो अंकले नेप्से परिसूचक बढ्यो भने कारोबार रकम पनि २ अर्ब माथि पुग्यो । 

दुई दिनको अवधिमा ५ प्रतिशतको दरले घटबढ भएको बजार १९.१५ अंकले बढी १७७९.५७ को उचाईमा पुगेको छ । दुई समूहको परिसूचकमा रातो पोतिएको छ भने बाँकी ६ समूहको परिसूचक उकालो लागेका छन् । यीमध्ये पनि एउटा समूहमा तेहेरो, ४ समूहमा दोहोरो र बाँकी एउटा समूहमा एक अंकको वृद्धि देखियो ।  

बुधबार कारोबारको हिसाबले वाणिज्य बैंकहरु अगाडि रहे पनि विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भए ।

सबैभन्दा बढी बिमा समूह १८०.४७ अंकले उक्लिएको छ । वाणिज्य बैंक र विकास बैंकमा क्रमशः १४.९३ र ३२.०९ अंकको वृद्धि देखिएको छ । बित्त समूह १२.१७ अंकले बढ्दा उत्पादनमूलक ५८.९२ अंकले उक्लियो । अन्य समूहमा ५.२ अंकको वृद्धि भयो । 

बुधबार होटल र जलविद्युत समूहमा दोहोरो अंकको गिरावट देखियो । ३६.१७ अंकले घटेको होटललाई २८.९१ अंकले घटी जलविद्युत समूहले पछ्यायो । 

'क'वर्गका कम्पनीको कारोबार बढेका कारण सेन्सेटिभ इण्डेक्स ४.३९ अंकले उक्लियो । फ्लोट इण्डेक्समा १.३५ अंकको बढोत्तरी देखियो । 

बुधबार १ सय ४६ कम्पनीका ३५ लाख ८१ हजार कित्ता सेयर २ अर्ब २ करोड रुपैयाँमा किनबेच भयो । धेरै दिनपछि कारोबार रकम २ अर्बमाथि पुगेको हो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार नेपाल बंगलादेश बैंकको मात्रै १५ करोड १८ लाखको सेयर कारोबार भयो । सिद्धार्थ बैंकले पनि ११ करोड १५ लाखको कारोबार गर्यो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थानमा वाणिज्य बैंकले राज गरे । नेपाल बैंक लिमीटेडले ८ करोड ७८ लाख, सिद्धार्थ इन्स्योरेन्सले ६ करोड ४९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ६ करोड ३९ लाख, एनएमबी बैंकले ६ करोडको कारोबार गरे । सनराइज बैंकले ५ करोड ४८ लाख, कृषि विकास बैंकको ५ करोड ३७ लाख, प्रिमियर इन्स्योरेन्सले ४ करोड ९४ लाख र माछापुच्छे बैंकले ४ करोड ८८ लाखको कारोबार गरे । 

धेरै कमाउने र गुमाउनेहरु
बुधबार कारोबारको हिसाबले वाणिज्य बैंकहरु अगाडि रहे पनि विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भए ।  १० भन्दा बढी कम्पनीले आफ्नो सेयर मूल्यमा ८ देखि १० प्रतिशतको हाराहारीमा वृद्धि गरे । जनता बैंक नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा ९.९४ प्रतिशतको बढोत्तरी देखियो । टुरिजम डेभलपमेन्ट बैंक, सेवा विकास बैंक, यति डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स, हाम्रो विकास बैंकका लगानीकर्ता पनि मालामाल भए । फेवा विकास बैंक, मञ्जुश्री फाइनान्स,सेती फाइनान्स र गण्डकी विकास बैंकका लगानीकर्ताले पनि कमाए । 

स्वरोजगार लघुवित्त विकास बैंकको प्रोमोटर सेयरधनीले बुधबार धेरै गुमाउनुपर्यो । यो सेयरको मूल्यमा ९ प्रतिशत भन्दा बढीले गिरावट आयो । यसैगरी, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले पनि धेरै गुमाउनुपर्यो ।