-भक्तराज रसाइली
काठमाण्डौं । करिब १६ वर्षअघि खरीद गरेको नेपाल बैंकको ७ सय कित्ता सेयर आफ्नो नाममा नामसारी गर्न रुँदै हिँडिरहेका एक लगानीकर्ताले अझै न्याय पाउन सकेका छैनन् ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत नेपाल बैंक लिमिटेडको १६ वर्षअघि खरीद गरेको ७ सय कित्ता सेयर तत्कालीन ब्रोकर नम्बर १६ का प्रतिनिधि सज्जनलाल अग्रवाल (हाल ब्रोकर नम्बर १७ एबीसी सेक्युरिटीजको लाइसेन्स खरिद गरी बनेका सञ्चालक)मार्फत खरिद गरेका धरान निवासी मनिषकुमार लोहियाले १६ वर्षसम्मको अथक प्रयासका बाबजुद न्याय पाउन नसकेका हुन् ।
यो बीचमा उनले आफूले खरीद गरेको सेयर ब्रोकरले आफ्नो नाममा नामसारी नगरिदिएको गुनासो लिएर सप्रमाण धेरै निकाय धाए । धेरैतिर रोईकराई गरे, तर उनको गुनासो कसैले सुनिदिएन । सबैबाट पाउने खोक्रो आश्वासनबाट दिक्क बनेका उनी अझै पनि रुँदै कराउँदै न्यायका लागि विभिन्न निकाय धाइरहेका छन् । तर, उनको समस्या सम्बोधन गर्ने तदारुकता अझै कुनै पनि निकायले देखाएका छैनन् ।
धरानका हार्डवेयर व्यवसायी लोहियाले २०५९ भदौ १३ गते नेपाल बैंक लिमिटेडको ७ सय कित्ता सेयर त्यसबेलाको मूल्य अनुसार २ लाख ५९ हजार नगद नै दिएर सज्जनलाल अग्रवालका भाञ्जा धरान प्रतिनिधि योगेश अग्रवाल(हाल एबीसी सेक्युरिटीज)मार्फत दोश्रो बजारबाट खरिद गरेका थिए।
त्यसबेला सेयर बिक्रेताले गरिदिने लिखतमा उल्लेख भएअनुसार लोहियालाई सेयर बेचेका तत्कालीन सेयरधनी गंगा अमात्यका बाजे राजमानसिंह जोशी, पिता रामदास जोशी र सेयरधनीको ठेगाना बानेश्वर काठमाण्डौ खुलाइएको छ ।
पीडित सेयर लगानीकर्ता मनिस कुमार लोहियाले आफूले खरिद गरेको सेयर आफ्नो नाममा नामसारी गरिदिन ब्रोकरलाई त्यसबेला नै पटक–पटक अनुरोध गर्दा कालोसूचीमा परेको सेयर भएकाले नामसारी नभएको भन्ने जवाफ पाएको बताए ।
लोहियाले सेयर बिक्री गर्ने व्यक्ति गंगा अमात्य रहेको र निजको सेयर बिक्रीपश्चात कालोसूचिमा पर्न गएको भन्दै विभिन्न तालुकदार निकायले लोहियाको नाममा नामसारी गर्न नमिल्ने भन्दै उनलाई १६ वर्षदेखि घुमाइरहेका देखिएको छ ।
केही वर्षसम्म कालोसूचिको सेयर नामसारी गर्न नमिल्ने भन्ने जिकिरमा अडिएका तालुकदार निकायमध्इेको एक सिभिल क्यापिटल मार्केट लिमीटेडले २०७४ चैत २२ गते नेपाल बैंकलाई एक पत्र लेख्दै लोहियाको नाममा नामसारी गर्न नेपाल स्टक एक्सचेञ्जबाट निर्देशन आएकोले सो अनुसार गरिदिन आग्रह गरेको थियो । तर, यो आग्रहलाई बैंकले बेवास्ता गरेको देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले २०७१ मंसिर २९ गते नेपाल बैंकलाई एक पत्र लेख्दै लोहिया र अमात्यबीचको सेयर खरीदबिक्री अमात्य कालोसूचिमा पर्नुअघि नै भएको देखिएको उल्लेख गरी कालोसूचिमा परेको मितिभन्दा पूर्व बिक्री गरेको सेयरहरु खरीदकर्ताको नाममा नामसारी गरिदिन निर्देशन दिएको थियो । तर, नेप्सेको यो निर्देशनलाई समेत नेपाल बैंकले बेवास्ता गरेको देखिन्छ ।
यो विषयलाई पीडित लोहियाले निरन्तर सम्बद्ध निकायमा पुर्याइरहे । परिणाम स्वरुप नेप्सेले नेपाल बैंकलाई २०७५ असोज २ गते पुनः पत्र लेखेर धितोपत्र बेजारले हस्तान्तरण प्रमाणित गरेको सेयर संगठित संस्थाले दर्ता गर्नुपर्ने भन्दै कडा निर्देशन दिएको थियो । नेपाल बैंकले सिभिल क्यापिटल मार्केट लिमीटेडलाई २०७५ असार १२ गते दोश्रो बजारमा कारोबार भएका धितोपत्रहरु नामसारी हुन नसक्ने व्यहोरासहित सेयर प्रमाणपत्र लगायतका कागजात फिर्ता पठाइएको सन्दर्भमा नेप्सेले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११० मा भएको व्यवस्था अनुसार गर्न नेपाल बैंकलाई निर्देशन दिएको देखिन्छ ।
पछिल्लो पटक भएको यो निर्देशनको समेत नेपाल बैंकले पालना गरेको छैन ।
दोश्रो बजार संचालकको भूमिकामा रहेको नेप्सेले सूचिकृत एउटा कम्पनी(नेपाल बैंक)ले उसको निर्देशन बारम्बार नमान्दा समेत प्रभावकारी कारबाही गर्न वा यो प्रक्रियामा हस्तक्षेप गर्न नसकेको(नचाहेको) देखिन्छ । यसले कतै लोहियाको नाममा आउनुपर्ने ७०० कित्ता सेयरमा नेपाल बैंक, नेप्से र ब्रोकरकै मिलेमतोमा कुनै गडबडी त भएको छैन ? भन्ने शंका उब्जाइदिएको छ ।
यता, नेपाल बैंककै कारण आफू लामो समयदेखि अन्यायमा परेको भन्दै लोहियाले क्षतिपूर्तिसहित त्यसबेला किनेको सेयरको हालसम्मको बोनस र हकप्रद समेत पाउनुपर्ने माग गरेका छन् ।
‘हालसम्म बञ्चित भएको बोनस तथा हकप्रदको पैसा तिर्न तयार छु र अहिलेसम्मको प्रमाणपत्र नामसारी गरिदिनुपर्छ । कानून नेपाल बैंकले मान्नुपर्छ ।’ उनले भने ।
एबीसी सेक्युरिटीज धरानका प्रतिनिधि योगेश अग्रवालले ‘सेयर नामसारी हुँदैन जे गर’ भन्दै हाक्काहाक्की धम्की दिने गरेको लोहियाको आरोप छ ।
ब्रोकरबाट सेयर नामसारी हुने छाटकाट नदेखेर नै लोहिया तीन पटकभन्दा बढी पुगेर निवेदन दर्ता र ताकेता गर्दा समेत नेप्से प्रमुखबाट काम हुन्छ भन्ने आश्वसन पाएको, तर सुनुवाई नभएको बताए ।
‘नेप्सेले यो समस्या धितोपत्र बोर्डसम्म नलैजानु हामी नै निप्ट्याउँछौ’ भन्दै आश्वासन दिएर आफूलाई लामो समयदेखि भूलभूलैयामा राखेको उनको दाबी छ ।
तत्कालीन समयमा पहिलो पटक नेपाल बैंकको सेयर दोस्रो बजारबाट खरिद गरेका लोहियाले त्यसपश्चात् सेयर खरिद गर्न डराएको अनुभव सुनाए।
नेप्से र सेबोनको विश्वास नभएर नै दोस्रो बजारबाट हात झिक्नुपरेको उनको दाबी छ ।
के भन्छन् ब्रोकर ?
ब्रोकर नम्बर १७(एबीसी सेक्युरिटीज)-नितेश अग्रवाल
२०५९ भदौ ३ गतेमा नेपाल बैंकको सेयर मेरा स्वर्गीय पिता तत्कालीन ब्रोकर नम्बर १६ का प्रतिनिधि सज्जनकुमार अग्रवालले नै किनिदिएको साँचो हो ।
बीचमा लामो समय कारोबार बन्द भई २०७० सालमा कारोबार खुलेपछि नेपाल बैंकको सेयर नामसारी गर्न पहल गरेका थियौं । कम्पनीले नामसारी नै गरिदिएन । नेपाल बैंकको ऋण भएकाले बिक्रीकर्ता गंगा अमात्यबाट नामसारी नभएको भन्ने बैंकबाट जवाफ आयो । हामीले नेप्सेलाई अनुरोध गरेपछि २०७१ मंसिर २९ गते सहायक प्रबन्ध खोमप्रसाद भट्टको हस्ताक्षरित चिठी मार्फत नेप्सेले बैंकलाई सेयर नामसारी गरिदिन भन्दै पत्राचार पनि गरिदियो, तर सेयर नामसारी भएर आएन ।
यसपछि हामीले बैंकको आरटिएस सिभिल क्यापिटललाई नामसारी गरिपाउँ भन्दै लिखित निवेदन पेश गरेका समेत थियौं । २०७४ चैत २० गते नेपाल बैंकलाई सिभिल क्यापिटलले पत्राचार गर्दै बिक्री गरेपश्चात् मात्र कालोसूचीमा परेको र नेप्सेले समेत पत्र लेखेका कारणले नामसारी गर्ने व्यहोराको पत्र लेख्यो । नेपाल बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीले ४–५ महिना झारो टार्ने काम गरे ।
यसपछि नेपाल बैंकले २०७५ असार १२ मा सिभिल क्यापिटललाई मनिष लोहियाको नाममा सक्कल प्रमाणपत्र पठाएको भन्ने व्यहोराको चिठी लेख्यो । २०७५ भदौ ३१ मा सिभिल क्यापिटलले नामसारी नै नभई चिठी पठायो । यसपश्चात् नेप्सेलाई सम्पूर्ण जानकारी गराइएको थियो ।
नेप्सेले २०७५ असोज २ गते धितोपत्र कारोबार ऐन, २०६३ अनुसार धितोपत्र दर्ता गर्नुपर्ने भन्दै नेपाल बैंकको नाममा पत्र काट्यो, तर पनि हालसम्म उक्त बैंकको सेयर नामसारी भएको छैन ।
अनौपचारिक रुपमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीसँग कुरा भएको छ, अब मैले बोर्डसमक्ष सम्पूर्ण कागजातका साथ निवेदन दिन लागेको छु । यस मुद्धाबाट हामी ब्रोकर र लगानीकर्ता मर्माहत भएका छौं र बिक्रीकर्ता गंगा अमात्य र नेपाल बैंक लिमिटेड फाइदामा छ भने नेप्सेको भूमिकामा प्रश्नचिन्ह खडा भएको छ ।
के भन्छ नेपाल बैंक ?
नेपाल बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीले सुरुमा त यो विषयमा अनभिज्ञता प्रकट गरे । तर, बिजशालाले सबै विवरण सुनाई सूचना नलुकाउनुस् भनेपछि आफूले यो विषय संचालक समितिसम्म फेरि एकपटक पुर्याइदिने दाबी गरे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19