काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १६.९७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९०२.२८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ५.५७ अंकले बढेर ३७२.९३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि सवा एक वर्ष रुपैयाँ बढीको भएको छ। 

बजार जानकार प्रकाश रजौरे आज बजार १८८० को सपोर्टबाट फर्किएको बताउँछन्। ‘यही नै बजारको बटम भएको बुझिन्छ किनकि यसअघि पनि बजार २–३पटक यही विन्दुबाट फर्केको छ’, उनले भने। 

आधारभूत रुपमा पनि बजार बढ्ने नै देखिएको रजौरेले बताउँछन्। ‘किनकि अन्तरबैंकिङ ब्याजदर घटेको छ, अब बैंकहरुको एभरेज बेसरेट पनि घट्ने देखिन्छ’, उनले भने। 

अब नयाँ सरकार गठनको तयारी हुँदै गर्दा ब्याजदरमा हस्तक्षेप गर्ने कुरा पनि आइरहेकोले बजार पनि १९०० भन्दा तल नजाने रजौरेको भनाइ छ। 

अर्का बजार जानकार दामोदर गजुरेल प्राविधिक रुपमा बजार साइडवेजमै चलिरहेको बताउँछन्। ‘आज आरएसआई ३८ को तहलाई टेस्ट गरेर बजार फर्किएको छ’, उनले भने, ‘बोलिंगरको तल्लो ब्यान्डबाट फर्केको बजार मध्य ब्यान्डसम्म जान सक्छ’, उनले भने।

गजुरेल आधारभूत रुपमा पनि बजार मजबुत बन्दै गएको केही आधारहरु देखिएको बताउँछन्। ‘पुसबाट ब्याजदर घट्न सक्ने समाचार आएका छन्’, उनले भने, ‘नबिल र ग्लोबल आइएमईजस्ता ठूलो बैंक र शिवम सिमेन्टको सेयरमा बिक्रीचाप घट्दै गएकोले पनि बजार बढेको हो’, उनले भने, ‘अहिले अल्पकालका लागि भन्दा पनि मध्य र दीर्घकालका लागि लगानी गर्ने उपयुक्त समय हो।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक ६.१४ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.८९ प्रतिशतले बढ्दा वित्त समूहमा १.८१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०५ प्रतिशत, जलविद्युत समूहमा १.५८ प्रतिशत, लगानी समूहमा ०.५२ प्रतिशत, जीवन बीमा समूहमा ०.७८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.८० प्रतिशत, लघुवित्त समूहमा ०.७३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत र व्यापार समूहमा ०.२० प्रतिशतको बढोत्तरी भएको छ। 

आज बैंकिङ समूहमा ०.५८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २४५ कम्पनीका ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नबिल बैंकको सर्वाधिक २१ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कुमारी बैंकको संस्थापक सेयरको १० करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ६ करोड २१ लाख रुपैयाँ, आशा लघुवित्तको संस्थापक सेयरको ५ करोड ९३ लाख रुपैयाँ, हिमालन डिस्टिलरीको ४ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड १२ लाख रुपैयाँ, रिडी पावरको ३ करोड ४६ लाख रुपैयाँ, प्रभु बैंकको २ करोड १२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको २ करोड ४ लाख रुपैयाँ र एनसीसी बैंकको १ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने 

आज दुईवटा लघुवित्तका सेयरधनीहरु मालामाल भए। समिट लघुवित्त र सिवाईसी नेपाल लघुवित्तका सेयरधनीहरु मालामाल भएका हुन्। यी दुवै लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।