काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ, तर कारोबार रकम भने ह्वात्तै घटेको छ ।
आज नेप्से परिसूचक ३.३५ अंकले बढेर २०००.४० विन्दूमा पुग्यो भने कारोबार रकम करिब साढे ७ अर्बमा सीमित भयो ।
बुलिस ट्रेण्डमा कुदिरहेको बजारमा हिजो सोमबार अपरान्ह नेपाल धितोपत्र बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो बजारमा हल्ला र अनुमानका आधारमा सेयर लगानी नगर्न आग्रह गरेकोमा आज सोही विज्ञप्तिकै कारण लगानीकर्ताहरु हतोत्साही बन्दै बजार घटेर १९६६ विन्दूसम्म ओर्लेकोमा पछि बजारमा सुधार हुँदै परिसूचक झिनो अंकले बढेर २ हजार विन्दूमाथि उक्लिएको हो ।
धितोपत्र बोर्डकै विज्ञप्तिकै कारण बजारमा ब्रेक मात्रै लागेन, लगानीकर्ताहरुको बलियो मनोबललाई धराशायी बनाउँदै कारोबार रकमसमेत ह्वात्तै घटाउन मद्धत गरेको विश्लेषकहरुले दाबी गरेका छन् ।
केही समययता बजार ननस्टप बढिरहेकोमा आज ब्रेक लाग्दै झिनो अंकको वृद्धि देखिएको छ । बैंकिङ सेक्टरमा २०-३० प्रतिशत नाफा बुक गरी अन्य सेक्टरमा लगानीकर्ताहरु सिफ्ट हुँदा समेत त्यसको सोझो असर इण्डेक्स र कारोबार रकममा परेको जानकारहरु बताउँछन् ।
नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलिकमलगायतका कम्पनीको सेयरमूल्यमा उछाल आउँदा इण्डेक्स र कारोबार रकम उचालिएको विश्लेषकहरुको भनाइ छ ।
नेपाल पुर्नबीमा कम्पनीले १० प्रतिशत हाराहारी लाभांश र १ः१ हकप्रद सेयर जारी गर्ने भन्दै बजारका केही टाठाबाठाहरुले उक्त कम्पनीका सेयरमूल्य उचालिरहेको समाचार स्रोतहरु बताउँछन् । पुनर्बीमा कम्पनीका सेयरमा हकप्रदको फण्डा झिकेर सेयरमूल्य डबल बनाउने बजारका केही खेलाडीहरुको चलखेलमा उक्त कम्पनीमा सोझासाझा लगानीकर्ताहरुलाई फसाउने काम भइरहेको स्रोत जिकिर गर्छ ।
यस्तै टेलिकमले समेत आगामी साता ५० प्रतिशत हाराहारीमा लाभांश वितरण गर्ने हौवा बजारवृत्तमा फैलाएपछि उक्त कम्पनीको सेयरमूल्यलाई उचाल्ने काम भइरहेको स्रोत दाबी गर्छ ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूहमा सर्वाधिक २१६.८३ अंकको बढोत्तरी भएको छ। अन्य समूह १०७.७ अंकले उकालो लागेको आज उत्पादन तथा प्रशोधन समूहमा ९९.८१ अंक, जलविद्युत् समूहमा ३८.६३ अंक र लघुवित्त समूहमा १.४३ अंकको बढोत्तरी आएको छ।
आज व्यापार समूह सर्वाधिक १०७.६४ अंकले ओरालो लागेको छ। विकास बैंक समूह ५२.८४ अंकले घटेको यो बैंकिङ समूहमा ४१.४३ अंक, होटेल्स् समूहमा २०.८२ अंक, वित्त समूहमा ७.४३ अंक, निर्जीवन बीमा समूह ३४ अंक र म्युचुअल फन्ड समूहमा ०.१८ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये १९७ कम्पनीका १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता सेयर ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँमा कारोबार भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६५ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ४४ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ९० लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको २५ करोड २६ लाख रुपैयाँ, प्रभु बैंकको २० करोड ८५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २० करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको २० करोड ११ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १९ करोड १३ लाख रुपैयाँ, एनसीसी बैंकको १८ करोड ५४ लाख रुपैयाँ र नेपाल बैंकको १७ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज पाँच कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। नेपाल पुनर्बीमा कम्पनी, रसुवागढी हाइड्रोपावर, अप्पर तामाकोशी, नेपाल टेलिकम र सेन्जेन जलविद्युत्का सेयरधनीहरु मालामाल भएका हुन्। यी पाँचै कम्पनीका सेयरमूल्यमा १० प्रतिशतका हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
यो दिन ग्रिन डेभलपमेन्ट बैंकको सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरमूल्य ७.७३ अंकले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19