काठमाण्डौ । सेयर बजार बिहीबार पनि दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १४.७१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २००१.५३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर ३८३.१३ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे असार मसान्तको प्रभावसँगै सप्लाई प्रेसर सकिएकोले बजारमा सुधार देखिएको बताउँछन्। ‘केही सकारात्मक समाचार पनि आएका छन्’, उनले भने, ‘तरलता बढेको छ, ब्याजदर बढेन र साउन लागेपछि कर्जा पनि पाइने सम्भावना छ।’

गभर्नरको बहिर्गमन हुन सक्ने चर्चाले पनि बजार बढ्न टेवा पुगेको घिमिरे बताउँछन्। ‘किनकि लगानीकर्ताले अहिलेका गभर्नरलाई खासै रुचाएका छैनन्, बजारविरोधी भनिरहेका छन्’, उनले भने, ‘यिनै खबरले अहिले लगानीकर्तामा उत्साह देखिएको छ।’ 

मौद्रिक नीतिपछि भने बजारले स्पष्ट दिशा तय गर्ने घिमिरेको भनाइ छ। 

अर्का बजार जानकार महेश रिजाल बजार बढ्नुमा २–३ वटा कारण रहेको बताउँछन्। तरलता सहज हुनु, रेमिट्यान्स बढ्नु र डलर सञ्चिति बढ्नुले बजारमा सुधार आउनमा सहयोग पुगेको उनको भनाइ छ। 

बजारमा अहिले गभर्नरको विषयले पनि निकै चर्चा पाइरहेको रिजाल बताउँछन्। ‘नयाँ अर्थमन्त्री पनि बजारमा चर्चा छ’, उनले भने, ‘योसँगै मौद्रिक नीतिले सपोर्ट गर्यो भने बजार २५०० भन्दा माथि नै जान्छ।’

आज नेप्से उपसमूह रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक २.०४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.६१ अंकले बढ्दा बैंकिङ समूहमा ०.५३ प्रतिशत, व्यापार समूहमा ०.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४ प्रतिशत, विकास बैंक समूहमा ०.९६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७५ प्रतिशत, अन्य समूहमा ०.३४ प्रतिशत, लघुवित्त समूहमा १.२८ प्रतिशत, जीवन बीमा समूहमा ०.१२ प्रतिशत, म्युचुल फन्ड समूहमा ०.७४ प्रतिशत र लगानी समूहमा ०.०५ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ६२ लाख १० हजार ९०८ कित्ता सेयर २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ३० करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अप्पर तामाकोशीको १४ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको आज एसियन लाइफ इन्स्योरेन्सको ८ करोड ४६ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ३९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ६४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ करोड २० लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ६ करोड १४ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ५ करोड ७७ लाख रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ३३ लाख रुपैयाँ र नेपाल टेलिकमको ४ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन अप्पर तामाकोशीको सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले उकालो लागेको छ। 

आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।