काठमाण्डौ । एशियाको दुुई ठूला अर्थव्यवस्था चीन तथा भारतले यो क्षेत्रको विकास दरलाई सन् २०१६ र २०१७ मा ५.७ प्रतिशत बनाइराख्ने प्रक्षेपण गरिएको छ । 

एशियन डेभलपमेन्ट बैंक(एडीबी)ले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै एशियाकै ग्रोथ रेटलाई चीन र भारतले ५.७ प्रतिशतभन्दा तल झर्न नदिने दाबी गरेको हो । 

एडीबीले सार्वजनिक गरेको एशियन इकोनोमिक इन्टीग्रेसन रिपोर्ट २०१६ मा भनिएको छ-'सन् २०१६ र २०१७ मा एशियाको विकास दर ५.७ प्रतिशत कायम रहने आशा गरिएको छ । जसमा यो क्षेत्रका सबैभन्दा ठूला अर्थव्यवस्था चीन र भारतले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।' 

रिपोर्टमा भारतको अर्थव्यवस्था आगामी दिनमा केही सकारात्मक हुने दाबी पनि गरिएको छ । आगामी वर्षदेखि भारतले वस्तु तथा सेवा कर(जिएसटी) लागूू गर्ने र यसले त्यहाँको अर्थव्यवस्थामा आमूल सुधार हुनसक्ने बताइएको छ । भारतको सुध्रिएको अर्थतन्त्रले समग्र एशियाको ग्रोथ रेटलाई प्रक्षेपित विन्दूमै कायम राख्न ठूलो मद्धत गर्ने दाबी रिपोर्टमा गरिएको छ । 

रिपोर्टका अनुसार चीनको आर्थिक वृद्धिदरमा केही मन्दी आएको छ । सन् २०१६ को पहिलो ६ महिनामा चीनको आर्थिक वृद्धिदर ६.७ प्रतिशत रह्यो, जब कि अघिल्लो वर्ष सोही अवधिमा वृद्धिदर ७ प्रतिशत थियो । तथापि, चीनको अर्थव्यवस्थामा निर्यात बढाएर आर्थिक सुधारमा सुधारको प्रयास जारी राखिएको छ । यसबाट चीनको अर्थव्यवस्थालाई पनि फाइदा पुुग्ने बताइएको छ ।