काठमाण्डौ । सन् २०२१ मा नेपाली सेयर बजारमा निकै उतारचढाव भयो। यही वर्षको गत अगस्ट १८ मा नेप्से हालसम्म उच्च विन्दु ३१९८.६ को विन्दु चुम्यो। यही वर्ष गत जनवरी ५ मा नेप्से परिसूचक २१६५.४९ को विन्दुमा बन्द भएको थियो। जुन यो वर्षकै न्यू विन्दु पनि हो। 

नेप्से परिसूचक हिजो डिसेब्र २९ मा २५२४.५ को विन्दुमा बन्द भएको छ। समग्रमा यो वर्ष नेप्से परिसूचक ४१० अंकको हाराहारीमा वृद्धि भएको छ।

निकै उतारचढावबीच सन् २०२१ मा १० वटा कम्पनीका सेयरले लगानीकर्ताहरुलाई २०० प्रतिशतदेखि ७५० प्रतिशतको हाराहारीमा रिटर्न दिएका छन् भने ४३ वटा कम्पनीका सेयरले १०० प्रतिशत माथिदेखि २०० प्रतिशतको हाराहारीमा रिटर्न दिएका छन्।

यो वर्ष सर्वाधिक रिर्टन दिने चन्द्रागिरी हिल्सले दिएको छ। यो कम्पनीले यो वर्षमात्रै लगानीकर्तालाई ७४० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ। गत फेब्रुअरी ७ मा प्रतिकित्ता १६४ रुपैयाँ रहेको यो कम्पनीको सेयरभाउ बढेर डिसेम्बर २९ मा १३७९ रुपैयाँ पुगेको छ। 

यसैगरी दोस्रो सर्वाधिक रिटर्न दिने कम्पनीमा महिला लघुवित्त छ। यो लघुवित्तले लगानीकर्तालाई ६६५ प्रतिशत रिटर्न दिएको छ। गत मार्च १६ मा ४४७ रुपैयाँ प्रतिकित्ता रहेको यो लघुवित्तको सेयरभाउ डिसेम्बर २९ सम्म बढेर ३४१५ रुपैयाँ पुगेको छ। 

यसैगरी रिडी हाइड्रोपावरले पनि ४८१ प्रतिशत बढी रिर्टन दिएको छ। यो कम्पनीको सेयरभाउ गत वर्ष डिसेम्बरमा १६० रुपैयाँ रहेकोमा बढेर यो वर्षको डिसेम्बर २९ सम्म ८३८ रुपैयाँ पुगेको छ। 

मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त, गोर्खाज फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्सले पनि सेयरधनीहरुलाई ३०० प्रतिशत बढी नै रिटर्न दिएका छन्। मनकामना स्मार्टको सेयरभाउ २९६.७ रुपैयाँबाट बढेर १३२५ रुपैयाँ, जीवन विकास लघुवित्तको ९८९ रुपैयाँबाट बढेर ४३७५ रुपैयाँ, गोर्खाज फाइनान्सको २०२ रुपैयाँबाट बढेर ८२२ रुपैयाँ, कर्पोरेट डेभलपमेन्टको २११ रुपैयाँबाट बढेर ८५१.४ रुपैयाँ र प्रभु लाइफको १४१ रुपैयाँबाट बढेर ५७० रुपैयाँ पुगेको छ। 

मानुषी लघुवित्तले हालसम्म लगानीकर्तालाई २३० प्रतिशत र बेस्ट फाइनान्सले २२५ प्रतिशत रिटर्न दिएको छ। मानुषी लघुवित्तको सेयरभाउ ३९७.५ रुपैयाँबाट बढेर १३१४ रुपैयाँ पुगेको छ भने बेस्ट फाइनान्सको १३५ रुपैयाँ बढीले बढेर ४४० रुपैयाँ पुगेको छ। 
(नोटः प्रस्तुत समाचार र सूचीमा सन् २०२१ भित्रै नेप्से सूचीकृत भएका कम्पनीहरु पनि समावेश गरिएका छन्)