काठमाण्डौ । यो वर्ष (२०७७) मा सेयर बजारमा निकै उछाल आयो। लगानीकर्ताहरु थुप्रै भित्रिए। बजार नयाँ–नयाँ रेकर्ड कायम गर्यो।

यद्यपि बजार पण्डितहरुले भने बजारमा उछाल आए पनि बैंकिङ सेक्टरमा अझै बहार आउन बाँकी नै रहेको बताउँदै आएका छन्। बजारमा वास्तविक बुल बैंकिङ सेक्टरमा उछाल आएपछि मात्रै आउने उनीहरुको तर्क छ।

यो वर्षभरि बैंकको सेयरभाउ हेर्दा अधिकांश बैंकले लगानीकर्तालाई मालामाल बनाएको देखिन्छ। अझै ४ बैंकले आफ्ना लगानीकर्ताहरुलाई एक वर्षमै दोब्बर रिटर्न दिएका छन्।

दोब्बर रिर्टन दिनेमा प्रभु, नेपाल बंगलादेश, नबिल र एनआईसी एसिया बैंक रहेका छन्। यी बैंक क्रमशः आफ्ना लगानीकर्ताहरुलाई ११०.४, १०४.१६, १०२.९४ र १०१.२४ प्रतिशत रिटर्न दिएका छन्। 

झन्डै एक वर्षअघि २२१ रुपैयाँ रहेको प्रभु बैंकको सेयर आज वर्षको अन्तिम दिन ४६५ रुपैयाँ पुगेको छ। नेपाल बंगलादेश बैंकको सेयरभाउ १९२ रुपैयाँबाट बढेर ३९२ रुपैयाँ पुगेको छ। 

त्यस्तै नबिल बैंकको सेयर प्रतिकित्ता ६८० रुपैयाँबाट बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। एनआईसी एसिया बैंकको पनि ४८२ रुपैयाँ रहेको सेयरमूल्य बढेर ९७० रुपैयाँ पुगेको छ। 

यसैगरी १३ वटा वाणिज्य बैंकबाट सेयरधनीहरुले ५० प्रतिशतदेखि झन्डै ९५ प्रतिशतसम्म रिटर्न पाएका छन् भने। एनसीसी बैंकको सेयरभाउ एकै वर्षमा ९४.५७ प्रतिशतले बढ्दा कुमारी बैंकको ९०.६९ प्रतिशतले बढेको छ। नेपाल बैंकबाट सेयरधनीहरुले ८८.११ प्रतिशत रिटर्न पाउँदा सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक र प्राइम कमर्सियल बैंकबाट ८० प्रतिशतभन्दा माथि नै प्रतिफल पाएका छन्।

बाँकी ९ वटा वाणिज्य बैंकबाट भने लगानीकर्ताहरुले ४ प्रतिशतदेखि ४३ प्रतिशतसम्म रिटर्न पाएको देखिन्छ। 

वाणिज्य बैंकहरुले १ वर्षमा लगानीकर्ताहरुलाई दिएको रिटर्न यस्तो छ–