काठमाण्डौ । साल २०७८ को अन्तिम कारोबार दिनमा सकारात्मक बन्दै सेयर बजारले २०७९ सालको सुखद् स्वागत गरेको छ। यसले आमलगानीकर्तामा खुसियाली छाएको छ। 

साल २०७८ सेयर बजार परिसूचक र कारोबारले नयाँ कीर्तिमान कायम गरेको थियो। २०७८ साउन ३१ गते इतिहासकै उच्च २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। लगत्तै भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९८.६ विन्दुमा बन्द भएको थियो। भदौ लागेसँगै सेयर बजार निरन्तर घट्न थाल्यो। 

२०७८ सालको अन्तिम दिन सेयर बजार सूचक नेप्से २४१५.२४ विन्दुमा बन्द भएको छ। जुन २०७७ सालको अन्तिम विन्दु २७१४.७९ भन्दा २९९.५५ अंक र हालसम्मै उच्च विन्दुको तुलनामा नेप्से अहिले ७८३.३६ अंकले बजार ओरालो लागिसकेको छ। 

झन्डै २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको बजारमा पछिल्ला दिनहरुमा कारोबार २ अर्ब रुपैयाँभन्दा मुनि हुन थालेको छ। 

वर्ष २०७८ मा नेप्से उपसमूहमा १३ वटामध्ये ५ वटामा मात्रै बढोत्तरी भएको छ भने ८ वटामा गिरावट आएको छ। यो वर्ष विकास बैंक, वित्त, म्युचुअल फन्ड, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहमा मात्रै बढोत्तरी भएको हो। अन्य, लघुवित्त, बैंकिङ, निर्जीवन बीमा, लगानी, होटेल तथा पर्यटन, बीमा र व्यापार समूहमा भने गिरावट आएको छ। 

२०७७ सालको अन्तिम कारोबार दिनमा २८९०.३२ को विन्दुमा बन्द भएको विकास बैंक समूह २०७८ को अन्तिम कारोबार दिनमा ४१६९.१६ को विन्दुमा पुगेर बन्द भएको छ। यो हिसाबले विकास बैंक समूह २०७८ सालमा १२७८.८४ अंकले बढेको छ। 

त्यस्तै वित्त समूहमा २०७८ सालभरि ५६५.३१ अंकले बढेको छ। २०७७ सालको अन्तिम कारोबार दिनमा १२८१.८४ को विन्दुमा पुगेको वित्त समूह २०७८ सालको अन्तिम कारोबार दिनमा १८४७.१५ को विन्दुमा पुगेर बन्द भएको छ। 

म्युचुअल फन्ड समूह पनि १३.४७ को विन्दुबाट बढेर १५.२० को विन्दुमा बन्द भएको छ। जलविद्युत समूह २६०३.४ को विन्दुबाट बढेर २७५०.५२ विन्दुमा र ५६४१.९९ को विन्दुमा रहेको उत्पादन तथा प्रशोधन समूह ५६९८.१८ को विन्दुमा बन्द भएको छ। 

२०७८ सालमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ४५ अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ। 

यसैगरी दोस्रो उच्च कारोबार गर्ने कम्पनीमा अपी पावर रहेको छ। यो कम्पनीको ४१ अर्ब ३१ करोड रुपैयाँबराबरको कारोबार भएको छ। 

नेपाल पुनर्बीमा कम्पनीको ४० अर्ब ५३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार गर्ने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी तेस्रो स्थानमा छ। 

२०७८ मा उच्च कारोबार गर्ने कम्पनीमा नेसनल हाइड्रोपावर चौथो स्थानमा छ। यो कम्पनीको ३७ अर्ब ५५ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

यसैगरी ३३ अर्ब ७६ करोड रुपैयाँको कारोबारसहित हिमालयन डिस्टिलरी पाँचौँ स्थानमा छन्।

२०७८ मा १० उच्च कारोबार गर्ने कम्पनीहरुको सूचीमा नबिल बैंक, अरुण काबेली पावर, एचआईडीसीएल, अप्पर तामाकोशी र निफ्रा पनि परेका छन्।