–अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारले २०७८ सालमा लगानीकर्तालाई खुसी र पीडा दुवै दिएको छ। यो वर्षमा नै ३२०० को इन्डेक्स चुम्न सफल बजारमा कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भयो। झन्डै २२ अर्बको कारोबार हुँदा सरकार, लगानीकर्ता, ब्रोकर, मर्चेन्ट, नियामक सबै लाभान्वित भए। 

बजारमा लगानीकर्ताको संख्या लगातार बढ्नुका साथै उत्साहजनक कारोबार हुँदै गर्दा मौद्रिक नीति, तरलता चाप, बढ्दो ब्याजदर, राजनीतिक अस्थिरतालगायतले गर्दा बजारमा प्यानिक अवस्था सिर्जना भयो। जसका कारण वर्षको अन्तिमतिर लगानीकर्ता, ब्रोकर, मर्चेन्टलगायतमा घट्दो बजारले गर्दा पीडामय अवस्था सिर्जना हुन पुग्यो। लगानीकर्ताका अगुवाहरु २०७९ साल बजारका लागि थप उत्साहजनक हुनुका साथै बजारले ३२०० को हाई ब्रेक गर्दै नयाँ उचाइ चुम्ने बताउँछन्।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल समग्र पुँजी बजारका लागि २०७८ साल असाध्यै राम्रो भएको बताउँछन्। ‘२०७८ सालमा बजारले झन्डै ३२०० इन्डेक्ससम्म पुग्यो’, ढकाल भन्छन्, ‘इन्डेक्स मात्र नभएर बजारमा कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गर्न सफल भयो। त्यसैले समग्र वर्ष बजारका लागि राम्रो नै रह्यो।’

वर्षको अन्त्यतिर भने तरलतामा चापका साथै नीतिगत कुराहरुले गर्दा बजार उत्साहजनक नभएको ढकालले बताए। सबै लगानीकर्तालाई नयाँ वर्षको शुभकामना दिँदै उनी भन्छन्, ‘आउने वर्ष चुनाव हुनुका साथै अहिले भएको तरलता संकटको समस्या सहज हुने देखिन्छ। त्यसैले २०७९ सालमा बजारले बजारले ३२०० को इन्डेक्स पार गर्दै नयाँ रेकर्ड राख्न पुँजी बजार सफल हुने मेरो विश्वास रहेको छ।’

स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्कीले २०७८ सालको पुँजीबजारले लगानीकर्तालाई एक वर्षको अवधिमा नै धेरै कुरा सिकाएको बताए। ‘बजारमा भएको उतारचढावले बजार भर्खरै प्रवेश गरेका लगानीकर्तालाई धेरै सिक मिलेको छ’, कार्की भन्छन्, ‘२०७८ सालमा नेप्से परिसूचक उच्चतम साथै न्यूनतम विन्दु दुवैमा कारोबार भएकाले बजारले लगानीकर्तालाई खुसी साथै पीडा दुवै दिन सफल रह्यो। तर, लगानीकर्ताले भने एक वर्षमा नै बजारबाट धेरै कुरा सिक्न सफल भएका छन्। गत वर्षको बजारले लगानीकर्तालाई परिपक्व बनाएको देखिन्छ।’

‘अघिल्लो वर्ष २०७७ को अन्त्यमा बजार उच्चतम विन्दुमा क्लोज भएको थियो। २०७८ अन्त्यमा भने बजार न्यूनतम विन्दुमा पुगेर यू–टर्न लिन खोजेको देखिन्छ’, कार्की भन्छन्, ‘आगामी दिन सहज हुँदै जाने देखिएकाले २०७९ सालमा बजारले नयाँ हाई बनाउने सम्भावना प्रबल छ।’

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले २०७८ साल पुँजी बजारका लागि मिश्रित रहेको बताए। ‘बजार एकदमै उत्साहजनक साथै प्यानिक पनि भएकाले यो वर्ष बजार मिश्रित रह्यो’, बास्तोला भन्छन्, ‘लगातार बढ्दो बजारलाई नीतिगत कुराले असर गर्दा बजारमा एउटा प्यानिक अवस्था सृजना भएको थियो। तर, त्यसका बाबजुद कतिपय लगानीकर्ताले राम्रो प्रतिफल लिन सफल भएको भने देखिन्छ।’

‘अर्थतन्त्र राम्रो र चलायमान भएमा २०७८ सालको तुलनामा २०७९ साल बजारका लागि थप उत्साहजनक रहन्छ’, बास्तोला भन्छन्, ‘अहिले बजारले बटम लगाएको अवस्था छ। चुनाव लगत्तै नयाँ नेतृत्व आउने भएकाले बजारमा सकारात्मक प्रभाव हुने देखिन्छ।’ 

अहिलेको अर्थतन्त्रमा सुधार आएमा २०७९ सालको केही महिनामा नै बजारले ३२०० को इन्डेक्स क्रस गर्ने देखिएको बास्तोलाको भनाइ छ।