काठमाण्डौ । अर्थ मन्त्रालयको प्रस्तावमा नोटहरु परिवर्तन गर्न नेपाल राष्ट्रबैंक पछिल्लो समय अग्रसर बनिरहेको छ । यही क्रममा २० रुपैयाँको नोटको डिजाइन समेत परिवर्तन हुने भएको छ । 

अर्थ मन्त्रालयको प्रस्तावमा नोटको पुरानो डिजाइनमा केही परिवर्तन गरेर बजारमा ल्याउने तयारी थालिएको हो । 

चलनचल्तीमा रहेका नोटहरुमा समय अनुसारका नयाँ विशेषताहरु संलग्न गर्नुपर्ने भएकाले यो परिमार्जन गर्न लागेको सरकारले बताएको छ ।

मन्त्रालय स्रोतका अनुसार अब २० रुपैयाँको नोटको रातो पृष्ठभूमिमा रहेको साम्भरको तस्वीर हट्नेछ र बाह्रसिङ्गेको तस्वीर राखिनेछ ।  २० रुपैयाँको नोटमा साम्भर जनावरको चित्र वि.स. २०६९ सालदेखि राखेर त्यस्तो नोट बजारमा ल्याउने गरिएको थियो । समय र सन्दर्भ अनुसार नोटहरुको डिजाइन परिवर्तन गरिइदै आएको छ । 

मन्त्रालयका एक कर्मचारीका अनुसार नेपालमा पाइने भए पनि बाह्रसिङ्गे नेपालको शुक्लाफाँटमा मात्र पाइन्छ र यो लोपोन्मुख जनावर समेत हो । यसको संरक्षणको सन्देश दिने उद्देश्यले समेत नोटमा तस्विर राख्न लागिएको हो । 

चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा ब्याकरणीय त्रुटी  फेला परेको छ । २० को नोटमा भेटिएको दुईवटा व्याकरणीय गल्तीलाई नयाँ नोटमा भने सच्याउने प्रस्ताव गरेको छ ।

यसैगरी, २०६९ सालदेखि डिजाइन भई बजारमा आएको नोटमा रहेको व्याकरणीय सुधार समेत गरिने बताइएको छ । 

नयाँ डिजाइनको नोट कुन मितिसम्म बजारमा आइसक्छ भन्ने बिषयमा चाहि अझै टुंगो लागिसकेको छैन ।