-मनिष सोती
काठमाण्डौ । हालसम्म नेप्सेमा सूचीकृत २० वटा म्युचुअल फण्डहरुले मात्रै गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरेका छन् । 

म्युचुअल फण्डहरुले आर्थिक वर्ष सकिएको एक-दुई महिनाभित्रै आफ्ना इकाईधनीहरुलाई प्रतिफल बाँड्ने गर्दछन् । अन्य कम्पनीको तुलनामा फण्डहरुको लाभांश घोषणा र वितरण प्रक्रिया चाँडो हुन्छ । 

म्युचुअल फण्डहरु बन्दमुखी र खुलामुखी हुने भएकोले अवधिसम्ममा आफ्ना इकाईधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्दछन् । फण्डहरुको दोस्रो बजारमा प्रतिइकाई मूल्यको आधारमा कारोबार हुने भएकोले नगद लाभांश मात्रै वितरण गर्छन् । 

गत आर्थिक वर्षको मुनाफाबाट सिटिजन क्यापिटल, सानिमा क्यापिटल, सनराइज क्यापिटल, एनएमबी क्यापिटल, एनआइसी एसिया क्यापिटल, नबिल इन्भेष्टमेन्ट मर्चेण्ट, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, एनआइबिएल एस क्यापिटल, कुमारी क्यापिटल र ग्लोबल आइएमई क्यापिटलका म्युचुअल फण्डहरुले लाभांश घोषणा गरी इकाईधनीहरुमा वितरण समेत गरिसकेका छन् । 

गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा बढी प्रतिफल अर्थात् लाभांश बाँड्नेमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट रहेको छ । सो फण्डले आफ्ना इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । 

त्यस्तै, सानिमा इक्विटी फण्डले १८ प्रतिशत, सानिमा फर्स्ट म्युचुअल फण्डले १६ प्रतिशत, एनएमबी–५० ले १५ प्रतिशत, एनएमबी हाइब्रिड फण्ड–१ ले १५ प्रतिशत, एनआइसी एशिया क्यापिटलका तीनवटा फण्डहरुले १० प्रतिशतका दरले लाभांश वितरण गरेको छ । 

त्यस्तै, सबैभन्दा थोरै एनआइबिएल एस क्यापिटलको म्युचुअल फण्ड एनआइबिएल सहभागिता फण्डले सो आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई जम्मा ४ प्रतिशत मात्रै लाभांश घोषणा गरेको छ । 

दोश्रो बजारको विषयमा पर्याप्त ज्ञान नहुने, तर सेयर बजारमा लगानी गर्न चाहनेका लागि म्युचुअल फण्डहरु राम्रो विकल्प हुन् ।

म्युचुअल फण्ड सञ्चालकहरुले विज्ञहरुको रायका आधारमा लगानीका विभिन्न उपकरणमा लगानी गर्ने भएकोले दोश्रो बजारमा जस्तो ज्ञानको अभावमा हुने जोखिम सामान्य लगानीकर्ताले भोग्नुपर्दैन ।