काठमाण्डौ । सरकारले बीस वर्ष अघि उत्पादन भएका बस, ट्रक जस्ता सार्वजनिक सवारी साधनमाथि आगामी फागुन १७ देखि प्रतिबन्ध लगाउने तयारी गरेको छ।
वायु प्रदूषणका एक प्रमुख कारक ठानिने लामो समय सडकमा गुडिसकेका त्यस्ता सवारी साधन हटाउनु सकारात्मक रहेको वातावरणवीदले बताएका छन्।
सार्वजनिक सवारी हटाइसकेपछि लाखौंको संख्यामा रहेका पुराना निजी साधनबारे निर्णय लिइने अधिकारीहरुले बताएका छन्।
बीस वर्ष पुराना ट्याक्सी स्वत: हट्ने नियम छँदैछ; नयाँ नियमले बीस वर्ष पुराना बस, ट्रक, टेम्पोजस्ता सवारी साधनमाथि प्रतिबन्ध लाग्नेछ।
यसले ध्वनी र वायु प्रदूषण कम गर्न सघाउ पुग्ने तर्क गर्छन् यातायात व्यवस्था विभागका प्रवक्ता तोकराज पाण्डे। उनी भन्छन्, "२०७३ साल फागुन १७ गतेदेखि कानूनी रुपमा चल्न अयोग्य हुन्छ सवारी साधन। कसैले जोर जबर्जस्ती गरेर सडकमा सञ्चालनमा ल्याउँछ भने हामी ट्राफिक प्रहरीको मद्दतबाट हामी नियन्त्रणमा ल्याउँछौं। त्यस्ता सवारी साधन देख्दैमा पनि चिनिन्छ। ब्लुबुकले पनि प्रमाणित गर्छ।"
त्यसरी हट्नुपर्ने सवारी साधनको संख्या सरकारले अहिले संकलन गरिरहेको र त्यस्तो संख्या अनुमानत: काठमाण्डूमा दुई हजार र राजधानी बाहिर थप दुई हजारजति हुनेछ।
वातावरणवीद भूषण तुलाधार त्यसले प्रदूषण कम गर्न सहयोग पुग्ने बताउँछन्। उनी भन्छन्, "पुरानो प्रविधिले बनेका दिनरात गुडिरहने सार्वजनिक गाडिहरुले तुलनात्मक रुपमा धेरै प्रदूषण गर्छन। दोश्रो धेरै चलेपछि घिस्रेर पनि बढि धुवाँ फाल्ने हुन्छन्। त्यसले केही हदसम्म प्रदूषण नियन्त्रण गर्ला तर त्यतिले मात्रै काठमाण्डूको प्रदूषण ह्वात्तै घट्दैन।"
नयाँ नियम हाललाई निजी सवारीमा भने लगाइने छैन।
निजीलाई 'पछि'
काठमाण्डूमा मात्र करिब चार लाख बीस वर्षभन्दा पुराना निजी सवारी साधन रहेको अनुमान छ।
सार्वजनिक सवारी साधनमा प्रतिबन्धपछि निजीलाई के गर्ने भन्ने निर्णय गरिने यातायात व्यवस्था विभागका प्रवक्ता तोकराज पाण्डेले बताए।
उनले भने, "यसले कस्तो फिडब्याक दिन्छ त्यो अनुसार क्रमश हामी कार्यान्वयन गर्दै जान्छौं। त्यसको अर्थ हो सुधार निरन्तर जारी छ। १५ वर्ष हुन्छ कि २५ वर्ष उपयुक्त हुन्छ अध्ययन गरेर निश्चित गर्छौं।"
जति नयाँ भयो त्यति कम प्रदुषण गर्ने साधन उत्पादन गर्ने प्रयत्न भइरहेकाले प्रदूषण नियन्त्रण गर्नकै लागि पनि धेरै मुलुकमा निश्चित वर्ष नाघेका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने गरिएको छ।
पुराना साधनमा प्रतिबन्धसँगै विकसित मुलुकले जस्तै बिजुली जस्ता वातावरण मैत्री उर्जाबाट चल्ने र एकैपटकमा धेरै यात्रु बोक्न सक्ने ट्राम, ट्रलीबस, रेल वा ठूला बस सञ्चालन गरे मात्र प्रदूषण कम हुने र ट्राफिक व्यवस्थापन पनि सहज हुने जानकारहरु बताउँछन्।
-बीबीसी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19