काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षसम्म २ दर्जन वस्तुमा आत्मनिर्भर हुने घोषणा गर्दै स्वदेशी वस्तु तथा उत्पादनको उपभोगलाई अभियानको रुपमा चलाइने बताएका छन् । 

आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन्। 

उनले बढी भन्दा बढी वस्तु तथा उत्पादनमा आत्मनिर्भर बन्नका लागि बन्द र रुग्ण उद्योग संचालनमा ल्याइने र यस्तो उद्योग संचालनका लागि निजी र सहकारीलाई प्रोत्साहन गरिने घोषणा गरेका छन् । 

बजेटमार्फत सार्वजनिक सेवामा स्वदेशी वस्तु तथा सेवा उपभोग गर्नुपर्ने प्रावधान कडाईका साथ लागू गर्ने घोषणा गरिएको छ । 

देशको तर्फबाट अन्तराष्टिय क्षेत्रमा भ्रमणको क्रममा उपहार दिंदा स्वदेशी वस्तु दिनुपर्ने नियम बनाइने घोषणा गरिएको छ । 

निर्माण सामाग्रीमा पनि स्वदेशी सिमेन्ट, रड नै प्रयोगलाई प्राथमिकता दिने घोषणा गरिएको छ भने स्वदेशी कपडा उपभोगलाई प्रोत्साहन गर्ने समेत अर्थमन्त्रीले घोषणा गरेका छन् । 

स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्न त्यस्ता उद्योगलाई बिजुली महसुलमा ५० प्रतिशत छुट दिइने र बैंक ब्याजदरमा ५ प्रतिशत अनुदान दिने घोषणा गरिएको छ ।