काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज ३१.७६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २२७५.६८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९ अंकले घटेर ४३६.८८ को विन्दुमा विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल लगानीकर्ताका अनुसार मनोविज्ञान तत्काल लगानी गर्ने नभएको देखिन्छ। ‘बैंकले लोन पनि नदिएको अवस्था छ, ४–१२ को असर कायम नै छ’, उनले भने, ‘चुनावी खर्च पनि तत्काल बैंकमा नआएको अवस्था छ।’

सक्रिय लगानीकर्ता दुर्गा घिमिरेका अनुसार तरलता र बढ्दो ब्याजदर नै बजार घट्नुको प्रमुख कारण हो। चुनावी खर्च बजारमा चुनावपछि प्रणालीमा आएपश्चात बजार लयमा फर्किने सम्भावना उच्च रहेको उनको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक २.३४ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.३३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८५ प्रतिशत, व्यापार समूहमा २.०४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३७ प्रतिशत, विकास बैंक समूहमा २.१९ प्रतिशत, वित्त समूहमा २.०३ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८२ प्रतिशत, अन्य समूहमा १.८ प्रतिशत, लघुवित्त समूहमा १.१४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशत र लगानी समूहमा १.४२ प्रतिशतको गिरावट आएको छ।

धेरै करोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ३६ लाख २ हजार ८४८ कित्ता सेयर १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ३ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ३ करोड ४२ लाख रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ४० लाख रुपैयाँ, निफ्राको २ करोड ९२ लाख रुपैयाँ, अपी पावरको २ करोड ७३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २ करोड ६४ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको २ करोड ४६ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ३७ लाख रुपैयाँ र छिमेक लघुवित्तको २ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजेटिभ सर्किट लागेको छ।

यो दिन ग्रीन भेन्चर्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले ओरालो लागेको छ।