काठमाण्डौ । धितोपत्र कारोबार साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

बजार आज ५५.९३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५७७.४९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक ११.०७ अंकले घटेर ४८५.९८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट नियामक निकायहरुले पछिल्लो समय सेयर बजारका लागि ल्याएको व्यवस्थाका कारण लगानीकर्ताको मनोबल गिर्दा बजार लगातार घटिरहेको बताउँछन्। ‘अब सरकार तथा नियामकबाट सेयर बजारमैत्री नीति वा वक्तव्य नआएसम्म लगानीकर्ताको मनोबल बढ्ने सम्भावना छैन’, उनले भने, ‘त्यसैले बेलैमा यस विषयमा सोचविचार गरिनुपर्छ।’

तत्कालको अवस्थामा भने बजार केही दिन अझै साइडवेजमा रहने सम्भावना रहेको पनि बिष्ट बताउँछन्। ‘लगानीकर्ताको मनोबल उकास्ने काम भएमा बजार लय फर्किने छ’, उनले भने। 

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने पनि बिष्टकै भनाइमा सहमत छन्। ‘मुख्यगरी अहिले सेयर धितो कर्जाको सीमा र सीडी रेसियोको व्यवस्थाले बजार प्रभावित भएको देखिन्छ’, उनले भने, ‘अहिले बजार घट्नुको अर्को कारण भनेको चाडपर्वको सिजन पनि हो।’

अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान भएसँगै पुँजीबजारबाट धमाधम पैसा बाहिरहेको न्यौपानेको भनाइ छ। ‘नयाँ लगानीकर्ताहरु घट्दो बजारमा छिटो आत्तिएका कारण ६ महिना लगाएर बढेको बजार १ महिनामै घट्यो। तर बजार बियरिस नै भयो भन्न भने मिल्दैन।’

आज नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ४.३३ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.९६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.५७ प्रतिशत, व्यापार समूहमा १.८१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.३३ प्रतिशत, विकास बैंक समूहमा २.९२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६३ प्रतिशत, उत्पादन तथा प्रशोधनमा १.७१ प्रतिशत, अन्य समूहमा १.९९ प्रतिशत, लघुवित्त समूहमा १.४ प्रतिशत, जीवन बीमा समूहमा १.८७ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१२ प्रतिशत र लगानी समूहमा ३.८३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अपी पावरको सर्वाधिक १५ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको १४ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी हाइड्रोपावरको १४ करोड १० लाख रुपैयाँ, शिखर इन्स्योरेन्स (संस्थापक सेयर) को १३ करोड ६६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड ३६ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १० करोड ३० लाख रुपैयाँ, नेपाल बैंकको १० करोड २१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ८ करोड ९२ लाख रुपैयाँ, नबिल बैंकको ७ करोड ८० लाख रुपैयाँ र एनआईसी एसियाको ७ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मैलुङ खोला जलविद्युतका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यो दिन गुह्वेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र रैराङ हाइड्रोपावरका सेयरधनीहरुलृे धेरै गुमाएका छन्। यी दुवै कम्पनीको सेयरभाउ ९ प्रतिशत बढी ओरालो लागेको छ।