काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले अब २६४ वटा ठाउँमा बस स्टप निर्माण गर्ने योजना बनाएको छ ।

महानगरपालिका कार्यालयका अनुसार काठमाण्डौको यातायात प्रणालीको सुधारगर्न लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने योजना रहेको छ ।

यसैगरी, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायतका काम गर्ने योजना पनि छ ।

 महानगरपालिकाले ट्राफिक प्रहरीसँग बुधबार समन्वय तथा सहकार्यसम्बन्धी आयोजना गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।

दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने महानगरको योजना छ ।

कार्यक्रममा काठमाण्डौ महानगरमा अटो रिक्सा, ई-रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बारे पनि छलफल भएको थियो ।