काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १६.९५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८०१.५२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५२५.४४ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ७ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार सरोज भट्टराई अल्पकालीन लगानीकर्ता हाबी हुँदा बजार बढेको बताउँछन्। बजारमा पहिलाकै सेक्टरहरु बढिरहेको उल्लेख गर्दै भट्टराईले बजारको बढाइ दिगो नदेखिएको बताए। ‘यसका लागि अझै केही समय बजारको चाल हेनुपर्छ’, उनले भने।
अहिले अप्पर तामाकोशी, नेपाल टेलिकमजस्ता ठूला पुँजी भएका कम्पनीहरुले सूचक बढाइरहेको भट्टराईको तर्क छ। ‘जलविद्युत र फाइनान्स कम्पनीहरुका राम्रो त्रैमासिक रिपोर्टले पनि बजार बढ्न बल पुगेको छ’, उनले भने।
कोभिड महामारीपछि अन्य क्षेत्रका धेरै मानिसहरु बजार प्रवेश गरेको र उनीहरुले स्वपुँजी लगानी गरेका कारण बजार बढ्न टेवा पुगिरहेको भट्टराई बताउँछन्।
अर्का बजार जानकार निमानन्द कँडेल अहिले बजार घट्नुपर्ने खासै कारण नरहेको बताउँछन्। कम्पनीहरुका पहिलो त्रैमासिक रिपोर्टहरु राम्रै आउनुले बजार सकारात्मक नै रहने संकेत दिइरहेको उनको भनाइ छ। ‘प्राविधिक विश्लेषकलगायत सबैतिरबाट सकारात्मक समाचार आउँदा पनि लगानीकर्ताको मनोबल बढेको छ’, उनले भने, ‘पुरानो रेकर्ड तोड्न केही समय लागे पनि अब बजारमा ठूलो करेक्सन आउने सम्भावना देखिँदैन।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ।
यो दिन अन्य समूह सर्वाधिक ५.२९ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह २.२४ अंकले बढेको आज बैंकिङ समूहमा ०.२६ प्रतिशत, वित्त समूहमा १.२२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५३ प्रतिशत, लघुवित्त समूहमा ०.१६ प्रतिशत र व्यापार समूहमा ०.८१ प्रतिशतको बढोत्तरी भएको छ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५२ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.३५ प्रतिशतले घटेको यो दिन लगानी समूहमा ०.५८ प्रतिशत, जीवन बीमा समूहमा ०.५५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१४ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८१९.६५ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक ५८ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको ३८ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको आज एसियन लाइफ इन्स्योरेन्सको ३३ करोड ६६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २६ करोड ३१ लाख रुपैयाँ, गरिमा विकास बैंकको २२ करोड १९ लाख रुपैयाँ, अपी पावरको २० करोड ३३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १९ करोड ६१ लाख रुपैयाँ, अरुण काबेली पावरको १९ करोड ३४ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १८ करोड ८१ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको १८ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन ६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। पञ्चकन्या माई हाइड्रोपावर र अप्पर तामाकोशीको सेयरमूल्यमा १० प्रतिशत तथा मानुषी लघुवित्त, तेह्रथुम पावर, नेपाल बंगलादेश बैंक र मैलुङखोला जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन नेपाल टेलिकमको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
आज बोटलर्स नेपाल (तराई) र महालक्ष्मी विकास बैंकका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago