काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकले अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ। 

आज बजार ३२.८१ अंकले उकालो लागेको छ। योसँगै नेप्से २८२० को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.२३ अंकले बढेर ५०७.२० को उचाइमा पुगेको छ। कारोबार रकम पनि पौने १२ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बजार सकारात्मक ढंगले अगाडि बढिरहेको बताउँछन्। ‘बजारमा अहिले स्मार्ट र विवेकशील लगानी भित्रिएका छन्’, उनले भने, ‘त्यसैले उनीहरु बजारका ट्रेन्ड बुझेर सेक्टरवाइज लगानी गरिरहेका छन्।’

बजारलाई कारोबारले भरपूर साथ दिइरहेको फुल्लेल बताउँछन्। ‘राजनीतिले नेपालको सेयर बजारमा खासै प्रभाव पार्दैन’, उनले भने, ‘अहिले कोभिडका कारण अन्य क्षेत्र गरिने लगानी पनि सेयर बजारमा भित्रिएको छ, यसले बजार बढ्नलाई थप टेवा पुगेको छ।’

अहिलेको अवस्थामा लगानीकर्ताहरुले वित्तीय र लाभांश इतिहास हेरेर प्रतिफल दिने कम्पनीहरुमा लगानी गर्दा उचित हुने फुल्लेल सुझाव दिन्छन्। ‘रिटर्नका आधारमा गरिएको लगानी सुरक्षित हुन्छ’, उनी भन्छन्।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट अहिले बजारमा संस्थागत लगानीकर्ता सक्रिय भएका कारण बजार बढेको बताउँछन्। ‘अहिले आमलगानीकर्ताको मनोबल पनि बढेको देखिन्छ’, उनले भने, ‘त्यही भएर बजार सकारात्मक ढंगले अगाडि बढिरहेको छ।’

अहिले बजारमा सेक्टरवाइज बढोत्तरी आएका कारण लगानीकर्ताहरु सर्टटर्म लगानीमा लागिरहेको देखिने पनि बिष्ट बताउँछन्। ‘बजारको यो ट्रेन्ड दिगो नै हुने देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक २३९.८९ अंकले उकालो लागेको छ। वित्त समूह १०४.५५ अंकले बढेको आज बैंकिङ समूहमा ३३.२९ अंक, जलविद्युत् समूहमा ४४.२० अंक, लगानी समूहमा ०.०९ अंक, जीवन बीमा समूहमा ६१.६३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.४८ अंक, म्युचुअल फन्ड समूहमा ०.१० अंक, अन्य समूहमा १३.२१ अंक र व्यापार समूहमा ४१.८८ अंकको बढोत्तरी भएको छ। 

आज लघुवित्त समूह सर्वाधिक २०.७० अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ११.७० अंकले घटेको यो दिन होटेल तथा पर्यटन समूहमा २.९४ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता सेयर ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँमा किनबेच भएको छ। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४१ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल लाइफ इन्स्योरेन्सको ३७ करोड १४ लाख रुपैयाँबराबरको कारोबार भएको आज ज्योति विकास बैंकको २३ करोड ७७ लाख रुपैयाँ, मेगा बैंकको २२ करोड ४७ लाख रुपैयाँ, गरिमा विकास बैंकको २२ करोड २४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २० करोड ७२ लाख रुपैयाँ, सिनर्जी पावरको २० करोड ३४ लाख रुपैयाँ, निफ्राको १९ करोड ४८ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको १९ करोड ६ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको १८ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कर्णाली डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा महालक्ष्मी वकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी, कालिका पावर, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेस्टमेन्ट फाइनान्स, आईसीएफएसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन मञ्जुश्री फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्।

आज रुरु जलविद्युत र समता घरेलु लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।