काठमाण्डौ। धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको लगातार २ दिनसम्म भारी गिरावट आएको नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा तेस्रो दिन बुधबार भने उछाल आएको छ।

लगातार २ दिनमा ८० रुपैयाँ गुमाएको यो कम्पनीको सेयरमा आज बुधबार भने कारोबार खुलेको केही मिनेटमै १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो कम्पनीको सेयरमा आज ९.९८ प्रतिशतले बढ्दै ३४ रुपैयाँ प्रतिकित्ता बढोत्तरी भएको छ। यो बढोत्तरीसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३७८ रुपैयाँमा कारोबार भइरहेको छ। 

आज बजार खुलेको १३ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको बढोत्तरी भई पहिलो पोजेटिभ सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएको थियो। पहिलो सर्किट लगत्तै खुलेको बजार पुनः २ मिनेटमै नेप्से परिसूचकमा ५ प्रतिशतको बढोत्तरी भएर अहिले बजारमा ४० मिनेटको दोस्रो पोजेटिभ सर्किट लागिरहेको छ। 

हिजो मंगलबार पुनर्बिमा कम्पनीको सेयरमूल्यमा ९.९४ प्रतिशतको गिरावट आएर ३८ रुपैयाँ घटेको थियो। यो कम्पनीको पहिलो सेयर कारोबारमा आएको दिन सोमबार प्रतिकित्ता सेयरमा ४२ रुपैयाँको गिरावट आएको थियो।

यो कम्पनी सेयर दोस्रो बजारमा ४२४ रुपैयाँ प्रतिकित्तामा कारोबार खुलेको थियो।