काठमाण्डौ । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् । हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ ।

यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । त्यस्ता अभियोगमा नेपालीहरू पक्राउ पर्ने र छुट्नेक्रम हरेक दिन सयौँको संख्यामा रहेकाले पनि तथ्यांक राख्न आवश्यक नरहेको कन्सुलर सेवा विभागले जनाएको छ । 

सरकारको पछिल्लो तथ्यांकअनुसार विदेशका विभिन्न जेलमा रहेका नेपाली र तिनीहरूलाई लगाइएको अभियोग र सुनाइएको सजाय यस्तो छ :

१. साउदी अरेबियाको जेलमा ६९ नेपाली : रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका नेपालीमध्ये ६९ जना जेल परेका छन् । रियादस्थित नेपाली राजदूतावासले २८ र जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले आ–आफ्नो क्षेत्रमा ४१ जना नेपाली जेलमा रहेको तथ्यांक दिएका छन् ।

साउदी अरेबियामा मृत्युदण्ड सजाय पाएर जेलमा रहेका नेपाली
नाम /                          ठेगाना                   अभियोग
१. मनोजकुमार पाण्डे , महोत्तरी    ड्रिल मेसिनले किच्दा पाकिस्तानी नागरिकको मृत्यु
२. दिलबहादुर कामी, ठेगाना नखुलेको    पर्वतका कृष्ण कुस्मेलीको हत्या गरेको अभियोग
३. शान्तबहादुर पुन, पर्वत    साउदी नागरिकको हत्या गरेको अभियोग

साउदी अरेबियामा ब्लडमनी तिर्न नसकेर जेलमा रहेका नेपाली
नाम    अभियोग    सजाय
१. धनबहादुर थापा    गाडी दुर्घटनाबाट व्यक्तिको मृत्यु    ९० लाख रुपैयाँ ब्लडमनी
२. रामहरि कुँवर    कम्पनीमा चोरी गरेको    ४५ लाख रुपैयाँ बिगोदाबी

मृत्युदण्ड सजाय पाउने नेपाली थपिनसक्ने : साउदी अरबमा जेलजीवन बिताइरहेकामध्ये पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएकाहरू ६ जना छन् । त्यसमध्ये मादक पदार्थ कारोबार गरेको अभियोगमा रुपन्देहीकी ललिता दमाईंलाई पनि ३० महिनाको जेलजीवन सुनाइएको छ । उनको बच्चासमेत भएकाले आधा सजाय घटाइएको र एक सय २० कोर्राको सजाय त्यहाँको अदालतले सुनाएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

साउदी अरबमा भारतीय, फिलिपिनी, अफगानी, पाकिस्तानी, सिरियन, साउदी नागरिकको हत्या अभियोगमा पक्राउ परेका कतिपय नेपालीको मुद्दा अझै पनि विचाराधीन छ । अदालतले उनीहरूलाई मृत्युदण्डको सजायदेखि ब्लडमनीसम्मको सजाय सुनाउनसक्ने नेपाली राजदूतावासले जनाएको छ । साउदी अरबकै जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले दिएको जानकारीअनुसार साइबर क्राइमअन्तर्गत पक्राउ परेका एक नेपाली (नाम नखुलेको) लाई दुई वर्ष ६ महिना जेल र चार सय कोर्रा सजाय सुनाइएको छ ।

गम्भीर प्रकृतिका अपराध गर्ने र ठूलो सजाय सुनाइएकाको तथ्यांक राखिए पनि कम्पनी तथा मालिकसँग सम्बन्धित गुनासो लिएर दैनिकजसो दूतावास पुग्नेको गुनासो अभिलेखीकरण गर्न नसकिने कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले बताए ।

बहराइनको जेलमा सात नेपाली : बहराइनमा पनि सातजना नेपाली जेलमा रहेका छन् । कन्सुलर सेवा विभागको तथ्यांकअनुसार बहराइनमा नेपाली नागरिक श्यामकुमार राईको हत्या गरेको अभियोगमा खोटाङका गैनबहादुर राईलाई जन्मकैद सजाय सुनाइएको छ । उनको जन्मकैदको सजाय सन् २०२४ मा भुक्तान हुनेछ । इन्डोनेसियाली महिलाको हत्या प्रयासमा बंगलादेशी नागरिकलाई सहयोग गरेको अभियोगमा म्याग्दीका दिलीप परियारलाई १५ वर्षको जेल सजाय तोकिएको छ । आफ्नै साथी दीपेन्द्र बस्नेतको हत्या गरेका म्याग्दीका तिलकुमार गर्जुवालाई पनि जन्मकैदको सजाय तोकिएको छ । उनी सजाय भुक्तान गरी सन् २०४० मा जेलमुक्त हुनेछन् । महिलामाथि खराब नजरले हेरेको, महिलालाई अश्लील शब्द प्रयोग गरेको, मादक पदार्थको कारोबार तथा सेवन गरेकोलगायत अभियोग लगाइएका नेपालीलाई तीन वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

दक्षिण कोरियाको जेलमा दुईजना नेपाली : एउटै कोठामा बस्ने नेपाली नागरिकको हत्या गरेका अभियोगमा भोजपुरका पर्शुराम राईलाई दक्षिण कोरियाको अदालतले १३ वर्षको कैद सजाय तोकेको छ । त्यस्तै नेपाली सहकर्मीसँग झगडा गरी दुईवटा औँला काटेको अभियोगमा झापाका शेखर पौडेल पनि दक्षिण कोरियामा पक्राउ परेका छन् । उनको मुद्दा विचाराधीन छ ।

कुवेतमा ६२ जना नेपाली जेलमा : कुवेतमा लागुऔषधको सेवन र कारोबारलाई ठूलो अपराध मानिन्छ । त्यहाँ पक्राउ परेकामध्ये अधिकांश नेपाली लागुऔषध सेवन र कारोबारको मुद्दा खेपिरहेका छन् । कुवेतको जेलमा रहेका नेपालीमध्ये ५३ जना केटा र नौजना केटी छन् । हत्याको आरोपमा समेत कुवेतको जेलमा केही नेपालीले सजाय काटिरहेका छन् । कुवेतमा मृत्युदण्डको सजाय सुनाइएका पाँचजना. जन्मकैदको सजाय पाएका १२ जना ।

मलेसियाको जेलमा १३ जना : मलेसियाको जेलमा रहेका १३ नेपालीमध्ये सबैजना केटा छन् । तीमध्ये आठजना हत्या अभियोगमा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध परेको मुद्दा विचाराधीन रहेकाले केहीलाई मृत्युदण्डको सजायसमेत हुनसक्छ । हत्या अभियोगमा पक्राउ पर्ने नेपालीमा रूपेशकुमार कापर, कुमार तामाङ, नेत्रबहादुर प्रधान, सुजन श्रेष्ठ, सुरेन्द्र मुखिया, सुजन दाहाल, कमल तामाङ र सुरजबहादुर सुनार छन् ।

ओमनमा तीनजना नेपाली जेलमा : ओमनको जेलमा भने तीनजना नेपाली मात्र जेलमा छन् । त्यसमध्ये सर्लाहीका पूर्णबहादुर मगर चोरीको आरोपमा, काठमाडौंकी विनिता राना ‘स्पोन्सर’को बच्चालाई आइरनले पोलेको आरोप र ठेगाना नखुलेका दोङ याङजेनको फर्जी भिसा प्रयोगको आरोपमा जेलजीवन बिताइरहेका छन् । उनीहरूको मुद्दामाथि फैसला हुन बाँकी छ ।

कतार जेलमा ५२ जना नेपाली : कतारमा ५२ जना नेपालीले जेलजीवन बिताइरहेका छन् । त्यसमध्ये तीनजनालाई जन्मकैद सुनाइए पनि हत्या अभियोगमा पक्राउ परेकादेखि बलात्कार, चोरीलगायतको अभियोगमा पक्राउ परेकामाथिको अदालती कारबाही चलिरहेको छ । कतारको जेलमा हत्या अभियोगमा रहेका नेपालीमध्ये केहीलाई मृत्युदण्डको सजाय हुनसक्ने जनाइएको छ।

युएई जेलमा १९ जना नेपाली : संयुक्त अरब इमिरेट्स (युएई)का विभिन्न जेलमा १९ जना नेपाली छन् । हत्या अभियोगदेखि चोरी, मदिरा सेवन, सवारी दुर्घटनालगायतको अभियोगमा पक्राउ परेकामध्ये केहीको मुद्दा विचाराधीन छ भने केहीलाई ब्लडमनी, जन्मकैददेखि मृत्युदण्डसम्मको सजाय सुनाइएको छ । हत्या अभियोगमा पाँचजना नेपाली युएई जेलमा छन् । जसमध्ये दार्चुलाका अमरबहादुर बमलाई मृत्युदण्डको सजाय सुनाइएको छ । त्यस्तै पाल्पाका चुराबहादुर गह र नवलपरासीका भुवानन्द भट्टराईलाई जन्मकैदको सजाय सुनाइएको छ ।

तनहुँका पूर्णबहादुर गुरुङ, इलामका अम्रिका देवान, झापाका विष्णुप्रसाद उप्रेती र तेह्रथुमका खड्गबहादुर जोगी पीडित पक्षले मागदाबी गरेको ब्लडमनी रकम तिर्न नसक्दा जेलमा छन् । पूर्णबहादुरसँग करिब ३० लाख नेपाली रुपैयाँ, अम्रिका देवानसँग दुई लाख ७० हजार रुपैयाँ, विष्णुप्रसादसँग ३० लाख रुपैयाँ र खड्गबहादुर जोगीसँग ३० लाख रुपैयाँ ब्लडमनी माग गरिएको छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।