काठमाण्डौ । सेयर बजारमा नयाँ उचाइ लिने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। 

धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार १५.३० अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक ३०९४.९५ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। हिजो नेप्सेले हालसम्मकै उच्च ३०७९.६५ को विन्दु चुमेको थियो। जुन आज ब्रेक भएको छ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ अंकले उकालो लागेर ५७४.३२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पनि सवा १३ अर्ब रुपैयाँ बढीको भएको छ।

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला बजारले आज पनि अलटाइम हाई रेकर्ड ब्रेक गरेकोले सकारात्मक नै मान्नुपर्ने बताउँछन्। ‘सुरुआत चरणमा घटेको बजार अन्तिम चरणमा बढेको छ’, उनले भने, ‘कारोबार घट्नुमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेको जस्तो देखिन्छ।’

बजारमा लगानीकर्ताहरुले सेक्टरवाइज लगानी गरिरहेको बास्तोला बताउँछन्। ‘त्यही कारण आज जीवन बीमा कम्पनीहरुमा आकर्षण देखियो’, उनले भने। 

बजार ३२०० तिर पुगेको करेक्सनको सम्भावना रहेको बास्तोलाको अनुमान छ। ‘हाललाई बजार सकारात्मक नै छ’, उनले भने।

समृद्ध नेपाल लगानीकर्ता संघका अध्यक्ष अध्यक्ष पर्वत बिष्ट आजको बजारलाई विश्लेषण गर्ने हो भने बजार केही दिन साइडवेजमा जान सक्ने देखिएको बताउँछन्। ‘आज लगानीकर्ताहरुले बैंक र जलविद्युतबाट प्रफिट बुक गरेका छन्’, उनले भने, ‘जलविद्युतमा करेक्सन प्राकृतिक नै हो किनकि यो ३०–३५ प्रतिशत बढेको थियो।’

लगानीकर्ताहरु खरिदभन्दा होल्ड गर्नेतर्फ लागेको देखिएको पनि बिष्टले बताए। ‘अब लगानीकर्ता होटेल सेक्टरमा लाग्न सक्छन्’, उनले भने, ‘किनकि होटेलका सेयर सस्तो छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ७.०९ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ३.०८ प्रतिशतले बढेको आज लगानी समूहमा २.८९ प्रतिशत, वित्त समूहमा २.६३ प्रतिशत, जीवन बीमा समूहमा २.४५ प्रतिशत, विकास बैंक समूहमा १.०१ प्रतिशत, लघुवित्त समूहमा ०.६७ प्रतिशत, अन्य समूहमा ०.९२ प्रतिशत र व्यापार समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक १.४७ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.८७ प्रतिशतले घटेको आज उत्पादन तथा प्रशोधन समूहमा ०.५५ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५.४४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको ३६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३१ करोड ८८ लाख रुपैयाँ, अपी पावरको २९ करोड ५९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ९२ लाख रुपैयाँ, अरुण काबेली पावरको २६ करोड १ लाख रुपैयाँ, युनिभर्सल पावरको २५ करोड ८८ लाख रुपैयाँ, सिनर्जी पावरको २५ करोड ८५ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको २२ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ३ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक, मल्टीपर्पस फिनान्स र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो। 

आज सोल्टी होटेल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।