– प्रकाश न्यौपाने

काठमाण्डौ । कोरोना महामारीपछि नेपालको सेयर बजारमा आमसर्वसाधारणको बिछट्टै आकर्षण देखियो। कम समयमै कीर्तिमानी उचाइ ३२०० को विन्दु चुमेको बजारबाट केही लगानीकर्ताले मनग्य कमाए। तर, अझै बढ्ने लोभ वा बजारको ट्रेन्ड नबुझ्दा यही विन्दुमा किन्नेहरु धेरैजसो फसेका पनि छन्। 

उक्त कीर्तिमानी उचाइबाट लगातार खसेको बजार न्यून विन्दु १८०६ सम्म आएको थियो। यही विन्दुबाट सामान्य तल–माथि गरिरहेको बजार पछिल्लो समय नयाँ सरकार बनेयता लगातार बढिरहेको छ। आज नेप्से परिसूचक २२११.७६ को विन्दुमा बन्द भएको छ। 

बजार बढ्न थालेपछि ३२०० को विन्दुमा किनेर फसेकाहरुको मुहारमा खुसियाली छाउन थालेको छ। 

लगानीकर्ता दिनेश उप्रेती ३२०० को विन्दुमा फसेकाहरुमध्ये एक हुन्। उनी अहिले निकै राहत महसुस भइरहेको बताउँछन्। ‘आधा पेट खाएर बचेको सम्पति सेयर बजारमा लगानी गर्दा चुर्लुम्म डुबेका पनि छन्’, उनले भने, ‘अहिले लगानीकर्ताले रुचाएका व्यक्ति अर्थमन्त्री बनेका छन्। अब गुमेको सम्पत्ति फिर्ता आउने आशा जागेको छ।’

अब भने होसियारीका साथ बजारमा कारोबार गर्ने उप्रेती बताउँछन्। ‘पछि पछुताउनु नपर्ने गरी लगानी गर्नु नै उचित हुन्छ’, उनले भने, ‘अरुलाई पनि यस्तै सुझाव दिइरहेको छु।’

राम्रा कम्पनीमा दीर्घकालका लागि लगानी गर्न उप्रेतीले नयाँ लगानीकर्तालाई सुझाव दिए। ‘माहौल हेरेर सस्ता कम्पनीमा छोटो समयका लागि लगानी गर्दै नाफा निकाल्दा दैनिक घर खर्च पनि टार्न सकिन्छ’, उनले भने। 

ब्रोकर हाउसमा भेटिएका अर्का लगानीकर्ता विनोद शिवाकोटी पनि बजार बढ्न थालेपछि खुसी छन्। ‘बजारले ठूला–साना, धनी–गरिब केही भन्दैन’, उनले भने, ‘यो बजारमा मै हुँ भन्नेहरु पनि नराम्रोसँग चिप्लिएका छन्।’

छोटो समयमा धेरै कमाउने ठूलो महत्वकांक्षा बोकेर यो बजारमा लगानी गर्नेहरु सडकमा आइपुगेको शिवाकोटी बताउँछन्। ‘आफ्नो क्षमताअनुसार अनुशासित भएर अध्ययन गरेर लगानी गर्दा राम्रो नाफा हात पार्न सकिन्छ’, उनले भने। 

पुराना लगानीकर्ता महेश श्रेष्ठ राम्रो लाभांश दिँदै आएका र भविष्यमा पनि दिन सक्ने कम्पनी खरिद गर्दा उचित हुने सल्लाह दिन्छन्। ‘छोटो समयका लागि भने कमजोर र सस्ता कम्पनीमा लगानी गर्दा दोहोरो फाइदा कमाउन सकिन्छ’, उनले भने, ‘तर, जोखिम बढी हुने भएकोले जोखिम मोल्न सक्ने क्षमता भएकाहरुले मात्रै त्यस्ता कम्पनीको सेयर कारोबार गर्दा उचित हुन्छ।’