काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो सिमेन्ट कारखाना निर्माण गर्ने गरी लगानी बोर्डले देशमै पहिलोपटक चिनियाँको लगानीमा संचालन गर्ने भनिएको होङ्सी शिवम् सिमेन्टसँग ३६.७ अर्ब रुपैयाँको परियोजना लगानी सम्झौता(पीआइए) गरेको छ । 

आइतबार भएको सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र होङ्सी शिवम् सिमेन्ट निर्देशक लाइ वेपिङले हस्ताक्षर गरे।

कुल लगानी ३६ अर्ब ७५ करोड हुने र यसमा ७० प्रतिशत स्वामित्व चिनियाँ लगानीकर्ताको हुनेछ । बाँकी हिस्सा शिवम् सिमेन्ट समूहको रहनेछ । चीनको होङ्सी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायनले शिवम् सिमेन्टसँग मिलेर यो उद्योग संचालन गर्नेछ । 

नौसय मेगावाट क्षमताको अरुण तेस्रो र सोही क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनापछि विदेशी निजी कम्पनीले नेपालमा गर्न लागेको यो सबैभन्दा ठूलो लगानी पनि हो । 
बोर्डले गरेको यो सम्झौता देशकै पहिलो पीआइए पनि भएको सम्बद्ध अधिकारीहरुले दाबी गरेका छन् ।

नवलपरासीको बेणीमनिपुर गाविसस्थित बेलुवामा निर्माण हुने होङ्सी शिवम् सिमेन्ट उद्योगले दुईहजारलाई प्रत्यक्ष रोजगारी दिने बताइएको छ । यसले सन् २०१९ को सुरुदेखि सिमेन्ट उत्पादन सुरु गर्ने र प्रारम्भमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादनको क्षमता राख्ने यो उद्योगले २ वर्षपछि आफ्नो क्षमतालाई दोब्बर बनाउने बताइएको छ । देशमा रहेका सिमेन्ट उद्योगमध्ये सबैभन्दा ठूलो लगानीमा सुरु हुन लागेको यो सिमेन्ट उद्योगले ओपीसी र पीपीसी दुवै खालका सिमेन्ट उत्पादन गर्नेछ ।

लगानी बोर्डका एक अधिकारीका अनुसार चिनियाँ लगानीको यो उद्योगका लागि निर्माणस्थलसम्म सडक र बिजुलीको ट्रान्समिशन लाइन पुर्याइदिने काम नेपाल सरकारले गर्नेछ । विदेशी लगानीलाई प्रोत्साहित गर्नका लागि समेत सरकारको तर्फबाट सडक र अन्य पूर्वाधारको काम गरिदिन लागेको उनले प्रष्ट्याए । 

बोर्डका अनुसार होङसी जस्तै अर्को एक चिनियाँ कम्पनीले पनि सिमेन्ट उद्योग खोल्ने प्रक्रिया अगाडि बढाइसकेको छ । साथै, नाइजेरियाको कम्पनी डांगोटेले चाहि सिमेन्ट उद्योगमै लगानीको स्वीकृति लिइसकेको छ । एकपछि अर्को गर्दै ठूला विदेशी लगानी सिमेन्ट उद्योगमा भित्रिन थालेपछि यसले सिमेन्टमा नेपाललाई निकै अगाडि बढाउने अधिकारीहरुले दाबी गरेका छन् ।  

हाल नेपालमा करिब ५० स्थानीय उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन् । ठूलो विदेशी लगानी पनि सिमेन्टमै केन्द्रीत भएपछि केही वर्षभित्रै नेपाल सिमेन्टमा आत्मनिर्भर हुने अवस्था देखिएको छ।