काठमाण्डौ । देशका केही स्थानमा आज सोमबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगालआसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। आज बागमती प्रदेश र गण्डकी प्रदेशका १–२ स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भूभागमा आंशिकदेखि सामान्यता सफा रहेको छ।

महाशाखाका अनुसार मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बुधबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।