काठमाण्डौ ।प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री दाहालले ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) मा आधारित स्वचालित नेपालको ढल्केबरपछिको दोस्रो ठूलो ४०० केभीको सबस्टेसन उद्घाटन गरेका हुन् ।

मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि इनरुवामा ४०० र २२० केभीका दुईवटा सबस्टेसन निर्माण गरिएको छ ।

राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाबाट ४०० केभीको सबस्टेसन निर्माण गरिएको हो ।

सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियत पूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनावाट २२०/१३२/३३ केभीको सबस्टेसन निर्माण गरिएको थियो । ४०० र २०० केभी सबस्टेसनको लागत करिब ३ अर्ब ८३ करोड रुपैयाँ छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सबस्टेसनको उद्घाटनसँगै यस क्षेत्रको विद्युत् प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार भएको बताए ।

साथै उनले सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय पनि थपिएको बताए ।

देशमा केही नभएको भन्दै निराशाको मात्र खेती र चर्चा बढी हुने गरेको अवस्थामा यस्ता ठूला–ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले आशाको सञ्चार गराएको उनको भनाइ छ ।

‘भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले नेपालमा रहेको अपार जलविद्युत्‌को सम्भावनालाई विकास गर्न बजार सुनिश्चित भएको छ । उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन छिट्टै नेपालमा भारतीय उच्च अधिकारीहरूको उपस्थितिमा अन्तिम सम्झौतामा हस्ताक्षर गर्दैछौँ, यो नेपालको जलविद्युत् विकासमा अर्को महत्वपूर्ण र ऐतिहासिक खुड्किलो हुनेछ’ उनले भने ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा २५० मेगावाट मात्र विद्युत् उत्पादन भएकोमा हाल एक वर्षमा ५०० मेगावाट विद्युत् थपिनुले देश प्रगतितर्फ बढेको तथ्य र तथ्यांकले पुष्टि गरेको बताए ।

आगामी १० वर्षभित्र करिब ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने विश्वसनीय आधार देखिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा देखिएको मार्गधिकारको समस्या र स्थानीयहरूका मागलाई सम्बोधन गर्न कानूनी रूपमा थप व्यवस्था गर्न लागिको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबस्टेसन सञ्चालमा आएसँगै यस प्रदेशका उद्योगी व्यवसायीहरूले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा पर्ने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको बताए ।

मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरूलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ । 

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरू छन् । जसको क्षमता ९४५ एमभीए छ । त्यस्तै, २२०/१३२ केभी १६० एमभीए क्षमताका दुई थान र २२०/३३ केभी,  ६३ एमभीए क्षमताका दुई थान पावर ट्रान्सफर्महरू छन् ।

इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब ४ हजार मेगावाट विद्युत् आदान प्रदान हुने छ । 
 

अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएकारहुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् कोशी कोरिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ ।

कोशी कोरिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै, तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।

इनरुवा सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी सिमेन्स् लिमिटेडसँग पुस २०७५ मा ठेक्का सम्झौता भएको थियो ।