काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित 'एनआईबिएल सहभागिता फन्ड'ले आर्थिक वर्ष २०७९–८० का लागि लाभांश घोषणा गरेसँगै यो फण्ड र यसबाट सञ्चालित एसआइपी(सिस्टेमिक इन्भेष्टमेन्ट प्लान)को समेत चर्चा भइरहेको छ । 

आर्थिक वर्ष २०७९-८० का लागि करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णयका कारण 'एनआइबिएल सहभागिता फण्ड'का केही इकाईधनीहरुले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिरहेका छन् भने बजारका कतिपय लगानीकर्ताले पनि यो विषयलाई ट्रोल बनाइरहेका छन् । 

पहिलो खुल्लामुखी म्युचुअल फण्डको रुपमा स्थापित 'एनआइबिएल सहभागिता फण्ड'ले घोषणा गरेको करसहित ४ प्रतिशत लाभांशको विषयलाई कतिपयले बैंकको मुद्दति निक्षेपमा पाइने रिटर्नसँग पनि तुलना गरिरहेका छन् । 

समीक्षा वर्षको मुद्दति निक्षेपमा पाइने औसत ब्याजको तुलनामा निकै कम लाभांश घोषणा भएको भन्दै कतिपयले चर्को आलोचना गरेको पनि पाइएको छ । 

खुल्लामुखी यस्ता फण्डहरुले घोषणा गर्ने कुनै एउटा आर्थिक वर्षको लाभांशलाई मात्र आधार मानेर यसको आलोचना गरिनु ठीक हो कि होइन ? यस्ता फण्डहरुको विशेषतालाई नै नबुझी एक आर्थिक वर्षको न्यून लाभांशलाई लिएर यसको आलोचना गर्नु कति व्यवहारिक हो ? कतै यस्तो नकारात्मक चर्चाले नेपालका लगानीकर्ताहरुले खुल्लामुखी फण्डहरुको लगानीको चरित्र नै नबुझेका पो बुझिन्छ कि ? अथवा, कतिपयले यस्ता एसआइपी योजनाहरुको विशेषता(चरित्र) नै नबुझी रिटर्नलाई मात्र केन्द्रमा राखेर पो लगानी गरिरहेका हुन् कि ? अथवा, यस्ता लगानीका उपकरणहरुलाई पनि लगानीकर्ताले सर्टटर्म ट्रेड गर्ने उपकरणको रुपमा पो बुझिरहेका हुन् कि ? सेयर बजारमा आज लगानी गरेर छोटो अवधिमै रिटर्न चाहिने कतिपय लगानीकर्ताको गलत स्वभावको परिणाम पो हो कि 'एनआइबिएल सहभागिता फण्ड'माथिको आलोचना ?

'एनआइबिएल सहभागिता फण्ड'को व्यवस्थापक कम्पनी एनआइएमबी एस क्यापिटलका डेपुटी सीइओ मेखबहादुर थापा खुल्लामुखी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एसआइपी योजनाहरुमा पैसा लगाउनु मुद्दतिमा जस्तो बचत गर्ने नभएर लगानी गर्नु रहेको प्रष्ट पार्छन् । ‘बचतमा कम रिस्क र लो रिटर्न हुन्छ ।’ उनले भने–‘तर इन्भेष्टमेन्टमा रिस्कसँगै हाई रिटर्न हुन्छ।’ 

उनले एसआइपी योजनाहरुमा पैसा लगाउनेले कम्तीमा ३ देखि ५ वर्षको औसत रिटर्नलाई कुर्न आवश्यक हुन्छ । एकवर्ष(खराब बर्ष)को मात्र रिटर्नलाई हेरेर त्यसकै आधारमा समग्र फण्डको आलोचना गर्दा अन्याय हुने उनको भनाई छ । 

‘एनआइबिएल सहभागिता फण्ड' सञ्चालन भएदेखि यो आर्थिक वर्षसम्मको औसत रिटर्न हेर्दा हामीले इकाईधनीहरुलाई मुद्दति निक्षेपको भन्दा निकै राम्रो रिटर्न दिएको छौं ।’ थापाले भने–‘यो कुरा इकाईधनी र एसआइपीमा लगानी गर्न चाहने अन्य लगानीकर्ताले पनि बुझिदिनुपर्छ । लगानी गरेपछि केही वर्ष कुर्ने धैर्यता आवश्यक पर्छ । सेयर बजारमा कुनै कम्पनीको सेयर किनबेच गर्दा हुने नाफाघाटाजस्तो गरी यस्ता योजनालाई सोचिदिनुभएन ।’ 

एनआइएमबी एस क्यापिटलका म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेतकाअनुसार चार वर्षअघि २० करोड रुपैयाँबाट सुरु भएको 'एनआइबिएल सहभागिता फण्ड'प्रति लगानीकर्ताको आकर्षणकै कारण आकार बढेर अहिले २ अर्ब रुपैयाँ पुगिसकेको छ । अझै १ अर्बले आकार बढाएर ३ अर्ब पुर्याउने कम्पनीको योजना छ । ‘४ वटा आर्थिक वर्षको औसत रिटर्न हेर्ने हो भने निकै राम्रो देखिन्छ ।’ बस्नेतले भने–‘यो चार वर्षको अवधिमा इकाईधनीले कुल ६६.६० प्रतिशत रिटर्न पाएका छन् । यो भनेको वार्षिक औसत १६.६५ प्रतिशतको रिटर्न हुन आउँछ ।’ 

उनले खुल्लामुखी फण्डलाई नजिकबाट बुझेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । ‘मुद्दति निक्षेपभन्दा राम्रो रिटर्न चाहनेहरुका लागि एसआइपी योजना लगानीको राम्रो विकल्प हो ।’ उनले थपे–‘तर एकदुई वर्षमै राम्रो रिटर्नको अपेक्षा कहिलेकाही पूरा नहुनसक्छ ।’ 

एसआइपी र मुद्दतिमा भएको रिटर्नको तुलना
'एनआइबिएल सहभागिता फण्ड'ले आर्थिक वर्ष २०७६–७७ मा इकाईधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गरेको थियो । आ.ब. ०७७–७८ मा सबैभन्दा बढी ५० प्रतिशत लाभांश वितरण गरिएको थियो । 

यस्तै, आर्थिक वर्ष ०७८–७९ मा ७.२० प्रतिशत र आर्थिक वर्ष २०७९–८० मा ४ प्रतिशत लाभांश घोषणा गरिएको छ । यसरी हेर्दा यो फण्डले करअघि चार वर्षमा कुल ६९.४५ प्रतिशत रिटर्न दिएको छ । 

यदि कसैले चार वर्षअघि एसआइपीका १००० इकाई खरीद गरेको थियो र उसले घोषित लाभांशलाई पुनः लगानी गर्दै अगाडि बढेको भए हाल उसको नाममा कुल इकाई १६२१ पुगिसकेको हुन्थ्यो । (टेबल हेर्नुहोस्)

यस्तै, यही अवधिमा यदि कसैले मुद्दति निक्षेपमा पैसा राखेको भए चाहिँ कति रिटर्न पाउथ्यो होला त ? त्यो पनि हेरौं । 

बैंकको मुद्दति निक्षेपको औसत ब्याजदरलाई लिने हो भने यो ४ वर्षको अवधिमा कुल ४०.२० प्रतिशत रिटर्न हुन्थ्यो । यो भनेको औसतमा प्रत्येक वर्ष १०.०५ प्रतिशत रिटर्न पाइन्थ्यो भन्ने हो । (टेबल हेर्नुहोस्)

माथि उल्लेख गरिएका यी दुई टेबलबाट पनि प्रष्ट हुन्छ कि एसआइपीमा लगानी लामो अवधिका लागि निकै राम्रो लगानीको विकल्प हो । 

लगानीमा जोखिम हुन्छ, सँगै उच्च रिटर्नको सम्भावना पनि । मुद्दति निक्षेपमा चाहिँ जोखिम हुँदैन, तर रिटर्न पनि निश्चित र थोरै मात्र । थोरै जोखिम उठाएर आफ्नो लगानीबाट राम्रो रिटर्नका लागि तपाईले पनि एसआइपी नै रोज्ने हो कि ? आफ्ना साना बालबच्चाको नाममा यस्ता एसआइपीको इकाईहरु सकेजति नियमित खरीद गरेर राखिदिए आजको सानो लगानीले भोलि निकै राम्रो रिटर्न दिनसक्छ ।

एउटा सानो उदाहरण हेरौं । यदि तपाईले आफ्नो वा बच्चाको(कोही एकको) नाममा मासिक रुपमा १० हजारका दरले १० वर्ष एसआइपीमा लगानी गर्नुभयो र औसत रिटर्न १६ प्रतिशत नै भयो भने १० वर्षपछि तपाईले एकमुष्ठ २९ लाख ६४ हजार बराबरको रिटर्न पाउनुहुनेछ । १० वर्षमा तपाईको कुल लगानी १२ लाख रुपैयाँ हुनेछ भने तपाईले १७ लाख ६४ हजार बढीको रिटर्न पाउनुहुनेछ । 

रोजाई तपाईकैं ।